बदर मतको सम्भावना बढी : मतदातालाई मतदान गर्न सिकाउँदै एमालेबाट सिफारिस भएका उम्मेदवार
स्काई न्यूज /बैशाख २४, सुर्खेत । वैशाख ३० अर्थात् स्थानीय तहको निर्वाचन आउन अब केही दिनमात्र बाँकी रहँदा एमाले पार्टीका तर्फबाट उम्मेदवार बनेकाहरु मतदाताको घरदैलोमा नै पुगेर मतदाता शिक्षा कार्यक्रम अगाडि बढाएका छन् । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि यसपटक एमालेका उम्मेदवार घरदैलोमै पुगेर आफू र आफ्नो दलका उम्मेदवारलाई मत माग्नुका साथै मतदातालाई कसरी मतदान गर्ने भन्ने विषयमा सिकाउन थालेका हुन् । मतदातालाई मतदानको तरिका सिकाउन उम्मेदवार, नेता र कार्यकर्ता घरघरमा पुगेका छन् । चुनाव प्रचारका लागि गाउँगाउँमा पुगेका उम्मेदवारले चुनावी घरदैलो अभियानसँगै मतदाता शिक्षा पनि अभियान चलाएका छन् ।
चौकुने गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार हरिप्रसाद अधिकारी र उपाध्यक्ष पदका उम्मेदवार निर्मला राना, पञ्चपुरी नगरपालिकाको प्रमुख पदका उम्मेदवार धनबहादुर थापा र उपप्रमुख पदका उम्मेदवार दुर्गादेवी जैसी, बराहताल गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार धनश्याम पाण्डे र उपाध्यक्ष पदका उम्मेदवार दुर्गाकुमारी विष्ट, वीरेन्द्रनगर नगरपालिकाको प्रमुख पदका उम्मेदवार मोहनमाया ढकाल र उपप्रमुख पदका उम्मेदवार निलकण्ठ खनाल, भेरीगंगा नगरपालिकाको प्रमुख पदका उम्मेदवार यज्ञप्रसाद ढकाल र उपप्रमुख पदका उम्मेदवार धनसरा बोहरा, लेखबेशी नगरपालिकाको प्रमुख पदका उम्मेदवार देव राना र उपप्रमुख पदका उम्मेदवार विमला खडलुक, गुर्भाकोट नगरपालिकाको प्रमुख पदका उम्मेदवार तिलक खत्री र उपप्रमुख पदका उम्मेदवार सुशीला विश्वकर्मा, सिम्ता गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार ऐनबहाुदर चन्द र उपाध्यक्ष पदका उम्मेदवार गोमा शर्मा (रेग्मी) तथा चिङ्गाड गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बोधविक्रम जिसी र उपाध्यक्ष पदका उम्मेदवार मिनाकुमारी रोकायलगायतका उम्मेदवारसँगै नेता, कार्यकर्ताहरु मतदातालाई मतदान गर्ने तरिका सिकाउँदै मत माग्दै आएका छन । अर्कोतर्फ नेपाली कांग्रेस र माओवादी केन्द्रको दुई दलीय गठबन्धन एवं राप्रपा समेत प्रचार प्रसारमा होमिएको छ ।
चुनावको चहलपहल सुरु भएपछि आयोगले नै घरघरमा मत कसरी दिने भनेर सिकाउन आउने गरेकामा यसपटक उम्मेदवार तथा नेताहरुले नै सिकाउन आएको चौकुने गाउँपालिका–८, निवासी जीवन देबकोटाले बताए । ‘अहिले मतपत्रका धेरै चिन्हमा छाप लगाउनुपर्छ, यसभन्दाअघि धेरैपटक मतदान गरे पनि यसपटक अलि कठिन भएकाले मतदाता शिक्षा कार्यक्रम आवश्यक छ,’ उनले भने, ‘तर, अब निर्वाचनको मुखैमा आयोगले मतदाता शिक्षा दिन नसक्ने स्पष्ट भएको छ ।’ चौकुने गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार हरिप्रसाद अधिकारी र उपाध्यक्ष पदका उम्मेदवार निर्मला राना यतिबेला पालिकाका वडा, टोलटोलमा पुगेर मतदाता शिक्षाबारे जानकारी दिइरहेका छन् । मतदातासँग मत माग्ने मात्रै होइन, उनीहरुलाई मतदानबारे जानकारी दिनु आफ्नो दायित्व रहेको अध्यक्षका उम्मेदवार अधिकारीले बताए ।
नेकपा एमालेका प्रभावशाली नेता धिरबहादुर शाहीले चौकुनेमा उम्मेदवारसहित केही कार्यकर्तालाई चुनाव प्रचार–प्रसारमा पठाएर अन्य पदाधिकारी र सदस्यलाई मतदाता शिक्षाका लागि गाउँ–गाउँमा खटाएको जानकारी दिए ।
‘पाँच वर्षअघि भएको मतदान प्रक्रिया कतिपयले भुलेको पनि हुनसक्छ, सक्षम र योग्य उम्मेदवार छनोट गर्न पाउने अधिकार मतदातालाई छ, त्यसकारण पनि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरेकामा हामी आफैँले यसबारेमा गाउँगाउँ र टोलटोलमा पुगेर शिक्षा दिइरहेका छौं,’ उनले भने, ‘यतिबेला आफ्ना मतदातालाई उम्मेदवारहरु मतदान गर्ने तरिका सिकाउँदै हुनुहुन्छ । मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएपछि कतिपय मतदाता मतदान गर्ने तरिकामै अल्मलिएकाले मत बदर हुन नदिन घरघरमै पुगेर उनीहरुलाई सचेत गराई रहेका छन् ।’ त्यसैगरी चौकुने गाउँपालिका वडा नम्वर ७, का वडा अध्यक्ष पदका उम्मेदवार अमरबहादुर विसी, बडा नम्वर ८, का बडा अध्यक्ष पदका उम्मेदवार ताराकेशर सुवेदीलगायत उम्मेदवार पनि मत बदर हुन नदिन नागरिकलाई सचेत बनाउने कार्यमा व्यस्त छन् । एमाले चौकुनेका उम्मेदवारसहितका नेता कार्यकर्ताले नमूना मतपत्र लिएर मतदान गर्न सिकाइरहेका छन् । मतपत्रमा धेरै चिन्हमा छाप लगाउनुपर्ने भएकाले मतदान प्रक्रियामा कोही अल्मलिनु नपरोस् भनी नमूना मतपत्र बोकेर घर–घरमा मतदान गर्न जानकारी दिने गरिएको उम्मेदवारहरुको भनाइ छ ।
घरआँगनमै उम्मेदवार
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सुर्खेतका गाउँगाउँमा चुनावी गतिविधि बढेको छ । उम्मेदवार र राजनीतिक दलका नेता मतदातालाई भेट्न घरआँगनमै पुगेका छन् । घरमा मतदाता नभेटिए खेतबारी र काम गरिरहेको ठाउँमै पुगेर भएपनि उम्मेदवारले आफूलाई भोट दिन अनुरोध गर्ने गरेका छन् । सुर्खेतका विभिन्न ठाउँमा मतदातालाई भेट्न उम्मेदवार खेतबारीसम्म पुगेका छन् ।
नेकपा एमालेको तर्फबाट सिम्ता गाउँपालिकाको अध्यक्षका उम्मेदवार ऐनबहादुर चन्द खेतबारीमा मकै गोडिरहेका र आँगनका गहुँ चुटिरहेका मतदातासँग बारी र आँगनमै पुगेर मत मागिरहेका छन् । अहिले गहुँ थन्क्याउने, मकै गोड्ने समय भएकाले कतिपय मतदाता खेतबारीमै काममा व्यस्त हुने हुँदा उनीहरुको काममा व्यवधान नहोस् भनेर खेतबारीमै पुग्ने गरेको चन्दले बताए । आफूले सम्भव भएसम्मका मतदातालाई भेट गरेको उनको भनाइ छ । ‘घरदैलो अभियानमा आफ्नो प्रतिबद्धता मतदातासमक्ष राख्ने गरेको छु,’ उनले भने, ‘सिम्तालाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेबारेमा मतदाताको सुझावसमेत लिने गरेको छु ।’ उनले आफ्नो चुनावी घोषणापत्र भएपनि कतिपय विषय मतदाताको अपेक्षा पनि रहने र त्यसैलाई सम्बोधन गरी निर्वाचित भएपछि काम गर्ने जिकिर गरे ।
त्यसैगरी एमालेको तर्फबाट बराहताल गाउँपालिकाको अध्यक्षका उम्मेदवार घनश्याम पाण्डेले पनि मकै बारीमा पुगेर मतदातालाई भेट्ने गरेका छन् । मतदातालाई बारीसम्म पुगेर आफ्ना कुरा राख्न पाउनु र उनीहरुको कुरा सुन्न पाउनु पनि सकारात्मक विषय भएको उनले बताए । बारीसम्मै आइपुगेर मत मागेपछि कृषक खुसी भएका छन् । कृषकले आफूलाई भेट्न उम्मेदवार बारीसम्म आइपुगेपछि खुसी लागेको प्रतिक्रिया दिँदै समयमै बीउ र मलको व्यवस्थापन हुनुपर्नेमा उम्मेदवारसँग माग गरेका छन् ।