आसानी समुन्द्री आँधिले २७ गतेदेखि नेपालमा पनि प्रभाव पार्ने
वैशाख २५, काठमाडौं । जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर बर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पूर्व तयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् ।
बगांलको खाडीमा बैशाख २३ गतेदेखि उत्पन्न न्यून चापिय अवस्था आइतबारको दिन समुन्द्री आँधिको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्व तयारी गर्न विज्ञहरुले सुझाएका हुन् ।
पछिल्लो विकसित प्रणालीबारे न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायुविद् डाक्टर धर्मराज उप्रेतिले आसानी नाम दिईएको यस आँधि निकै तिब्र गति मा चलेको बताए ।
सो आँधिको असर भारतको उडिसा लगाएत तटिय क्षेत्रमा बढी देखिने र नेपालमा भने बैशाख २८ गतेदेखि प्रभाव देखिने उनले बताए ।
बैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन बर्षा हुने पूर्वअनुमान गरिएकै समयमा बंगालको खाडीमा विकसित भएको न्यून चापिय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा गराउने उनले बताए ।
उनले भने– ‘२५ गतेदेखि बंगालको खाँडीमा न्युन चापिय अवस्था समुद्री आँधिको रुपमा विकसित भएको छ । यो न्युन चापिय अवस्था बैशाख २२ गतेदेखि उत्पन्न भएको थियो । न्युन चापिय अवस्था विकसित हुँदैगर्दा आजदेखि त्यसले समुद्री आँधिको रुप लिएको छ । त्यो समुद्री आँधिको प्रभाव नेपालको पूर्वी भागमा खास गरेर बैशाखको २७ गते रातिदेखि २८, २९, ३० मा अलि बढी देखिने सम्भावना अहिलेसम्मको आँकलनबाट देखिएको छ ।’
उनले अगाडि भने – ‘उसैपनि बैशाखको अन्तिम र जेठको पहिलो, दोस्रो सातासम्म बढी पानि पर्ने अवस्था थियो । र अहिले नयाँ प्रणालीले गर्दाखेरी हाम्रो चुनावको मुखमा पानी पर्ने र चुनावको मुखमा पानी पर्दाखेरी त्यसले मतदान प्रक्रियामा पनि केही असर गर्न सक्ने भएको हुनाले पहिलादेखि नै पूर्वतयारी गर्नुपर्छ होला भन्ने एउटा सुझाव छ । दोस्रो, मत पेटिकाको सुरक्षा या मतदान गर्ने केन्द्रमा पनि पानी पर्छ भन्ने हिसाबले, नपर्न पनि सक्छ, कुनै ठाउँमा पर्ने, कुनै ठाउँमा नपर्ने खण्डवृष्टि पनि हुन सक्छ । त्यसले गर्दा हामीले तयारी अवस्थामा बस्नुपर्ने आवश्यकता छ । पानीमा मतदाता पनि भिज्न सक्ने अवस्था हुनसक्छ । मतपत्र पनि भिज्न सक्ने अवस्था हुनसक्छ । यसलाई समेत सुरक्षाको दृष्टिकोणबाट पूर्वतयारी गर्न आवश्यक छ भनेर मैले सुझाव दिन सक्छु ।’