सुर्खेतमा हतियार बुझाउन कोही आएनन्

स्काई न्यूज/ बैशाख २६, सुर्खेत ।  स्थानीय निर्वाचनमा शान्ति सुरक्षालाई मध्यनजर गर्दै इजाजत लिएका हतियार प्रहरीलाई बुझाउन आग्रह गरिएपनि हालसम्म कसैले नबुझाएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । प्रशाासन कार्यालयका अनुसार सुर्खेतमा ईजाजत लिएर दर्ता भएका १ सय १८ र बाहिरी जिल्लामा दर्ता भएका ३१ गरी कुल १ सय ४९ वटा हातहतियार रहेका छन् ।

तर निर्वाचन हुन अब जम्मा ४ दिन बाँकी रहँदा समेत हतियार बुझाउन कोही नआएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । उनले चुनावका बेला फिर्ता गर्न भनिएका हतियार फिर्ता नगरि दुरुपयोग गरेको पाईएमा सम्बन्धित व्यक्तिलाई कार्वाहीसहित प्रहरीले जतिबेला पनि हतियार जफत गर्न सक्ने जानकारी दिए ।

प्रशासनले यही बैशाख ३० गते हुन गईरहेको निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउन हतियार खरखजाना २०१९ को दफा आठ बमोजिम जिल्लाका विभिन्न व्यक्तीहरुसँग ईजाजत भएका हतियार प्रहरीलाई बुझाउन आग्रह गर्दै गत चैत ७ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

ईजाजत पाएका त्यस्ता हतियार जिल्ला प्रहरी कार्यालय तथा आ–आफ्नो नजिकको प्रहरी एकाइमा सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपछि फिर्ता दिइने सूचनामा बताईएको भएपनि हालसम्म कोही बुझाउन आएका छैनन् । इजाजत प्राप्त व्यक्तिले हातहतियार बुझाउन अटेर गरि नबुझाएमा सुरक्षाकर्मीले जुनसुकै समयमा पनि हातहतियार खरखजना अन्र्तगत कार्वाही गर्न सक्ने छन् । (स्काई न्यूज दैनिकमा २०७९ बैशाख २७ गते प्रकासित समाचार)

Translate »