सागकी स्वर्ण विजेता खेलाडी सञ्जु मृत अवस्थामा फेला


बैशाख २७, काठमाडौं । चीनको आयोजना हुने १९ औँ एसियाली खेलकुद (एसियाड)को तयारीमा रहेकी भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृत अवस्थामा भेटिएकी छन् । १३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी सञ्जु ललितपुरको लुभु स्थित भारोत्तोलन प्रशिक्षक सन्जय मर्हजनको घरमा मंगलबार बिहान मृत अवस्थामा भेटिएकी हुन्।

प्रशिक्षक सन्जयको घरमा बस्दै आएकी सञ्जु आफ्नै कोठामा झुन्डीएको अवस्थामा फेला परेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । भारोत्तोलनका पूर्व मुख्य प्रशिक्षक पार्थ सारथी सेन गुप्ताका अनुसार सोमबार प्रशिक्षक महर्जनको घरमा भोज भएको र भोजमा भारोत्तोलन खेलसँग सम्बद्ध ब्यक्तिहरुको जमघट हुँदा सञ्जुलाई सामान्य रुपमा भेट भएको थियो ।
सञ्जुलाई आफूले सोमबार सामान्य अवस्थामा पाएको पनि पूर्व प्रशिक्षक गुप्ताले बताए । घटना स्थलमा प्रहरी पुगिसकेको र परिवारको रोहबरमा सञ्जुको मुजुल्का उठाउने काम भईरहेको नेपाल भारोत्तोलन संघले जनाएको छ । बाँके स्थायी घर भएकी सञ्जु केही दिन अघिमात्र एसियाड छनोट प्रतियोगिता खेल्न काठमाडौँ आएकी थिईन् । उनी एसियाडका लागि प्रारम्भिक छनोटमा समेत परेकी थिईन् ।

