परिचयपत्र बुझ्दै नयाँ मतदाता

स्काई न्यूज/ बैशाख २९, सुर्खेत । भोलि हुने स्थानीय तह निर्वाचनका लागि सुर्खेतका विभिन्न मतदान केन्द्रहरुमा आज बिहानदेखि नै नयाँ मतदाताहरुका लागि परिचयपत्र वितरण गर्ने काम भइरहेको छ । सर्वदलीय बैठकपछि बुधबारदेखि नै मतदाता परिचयपत्र वितरण गर्ने गरिएको हो । जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदाता परिचयपत्र लिनेहरु बिहानदेखि नै आइरहेको जानकारी प्राप्त भएको छ । पहिलो पटक मतदान गर्न लागेकोमा नयाँ मतदाताहरुमा निक्कै उत्साह देखिएको छ ।
नयाँ मतदाताहरु उत्साहित भएर आफै मतदाता परिचयपत्र लिनका लागि मतदान केन्द्रहरुमा आएका हुन् । यसमा राजनीतिक दलहरुले पनि सहजीकरण गरिरहेका छन् । मतदाता परिचय पत्र लिनका लागि नयाँ मतदाताहरुमा निक्कै उत्साह रहेको चौकुने गाउँपालिका ९ नम्वर वडामा स्थित विरगौडा आधारभूत विद्यालय मतदान केन्द्रका मतदान अधिकृत रामप्रसाद दाहालले जानकारी दिए । उनले मतदाता परिचयपत्रमा भएको त्रुटि संशोधनका लागि फारम भरेकाहरुको पनि संशोधन सहितको नयाँ परिचयपत्र लिइरहेको बताए ।

दई लाख ३८ हजार ४ सय ५७ मतदाता रहेको सुर्खेतमा नौ स्थानीय तह मध्ये सबैभन्दा धेरै मतदाता वीरेन्द्रनगर नगरपालिकामा र कम चिङगाड गाउँपालिकामा रहेका छन् । १ सय ३८ वटा मतदानस्थल अन्तर्गत २ सय ९१ मतदान केन्द्रका लागि १ हजार ४ सय ४५ कर्मचारी खटाइएको छ । जिल्लामा कुल ५ सय १३ पदका लागि २ हजार ८४ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् ।