सुर्खेतको चौकुने आठबाट माओवादीका कमलबहादुर जिसी विजयी

पूर्वमन्त्री शिवराज जोशीको वडामा माओवादीको रातो झण्डा फहराईयो

स्काई न्यूज/ जेठ ४, सुर्खेत ।  नेपाली काँग्रेसको सेतो किल्ला मानिने पश्चिम सुर्खेत स्थित चौकुने गाउँपालिकाको गुटुमा नेकपा माओवादी केन्द्रले रातो झण्ड फहराएको छ । स्थानीय तहको दोस्रो निर्वाचनमा नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व मन्त्री शिवराज जोशीको गाउँमा चौकुने वडा नम्वर ८, मा माओवादीले वडाध्यक्ष पद हात पारेको हो ।

काँग्रेसको सेतो किल्लामा प्वांल परेको फाईदा उठाउँदै माओवादीले एक्लाएक्लै चौकुने बडा नम्वर ८, को वडाध्यक्षसहित ३ जना सदस्य समेत जितेर आफ्नो हैसियत समेत देखाई दिएको छ । नेकपा माओवादी केन्द्रका कमलबहादुर जिसीले चौकुने–८, मा नेकपा एमालेका ताराकेशर सुवेदीलाई १६ मतले हराउँदै वडाध्यक्षमा विजयी भएका छन् ।

कुल १ हजार १ सय ७९ मत खसेकोमा उनले ३ सय ५८ मत ल्याएर काँग्रेसको गढमा माओवादीको रातो झण्डा गाढेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका सुवेदीले ३ सय ४२ मत प्राप्त गरेका थिए । पाँच सदस्यीय वडामा चार पद माओवादीले र एउटा खुला महिला सदस्यमा नेकपा एमालेका एलिशा बुढामगर विजयी हुन सफल भएको चौकुनेका निर्वाचन अधिकृत सरोजनिधि बाग्लेले जानकारी दिए ।

उनका अनुसार नेपाली काँग्रेसका कलाधर सापकोटाले २ सय ४७ मत प्राप्त गरेका थिए भने स्वतन्त्र उम्मेदवार पुतली चिन्ह भएका कविराज जोशीले १ सय २४ मत प्राप्त गरेका छन् । विशेषगरी टिकट वितरण र नदेखिने पार्टी फुटको असरलाई नजरअन्दाज गर्दा हालको अवस्था सिर्जना भएको कतिपय काँग्रेसीको अनुमान छ ।

गुटुमा काँग्रेसको राम्रो संगठन हुँदाहुँदै पनि कम्युनिष्टको तुलनामा केही कमजोर देखिएको छ । काँग्रेसलाई एकसुत्रमा राख्न सक्ने नेतृत्वको अभावमा पार्टी भित्रको चरम गुट उपगुटका कारणले सजिलै जित्न सकिने स्थानमा समेत पराजयको साम्ना गर्नु परेको भोक्तभोगी काँग्रेसी बताउँछन् । अब आउँदा दिनहरुमा काँग्रेसलाई थप परिस्कृत एवं व्यवस्थित गर्न आवश्यक रहेको धेरै काँग्रेसीजनको भनाइ छ ।

Translate »