भेरीगंगामा गठबन्धनलाई हराउँदै एमाले विजयी
स्काई न्यूज / जेठ ५, सुर्खेत । पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकामा नेकपा एमालेले गठबन्धनलाई हराउँदै प्रमुख तथा उपप्रमुख पदमा विजयी भएको छ । नेकपा एमालेका यज्ञप्रसाद ढकालले नेपाली काँग्रेसका रामबहादुर सिंहलाई २ सय २५ मत अन्तरले हराउँदै प्रमुख पदमा विजयी भएका हुन् ।
जितका लागि ढकालले १० हजार २२ मत प्राप्त गरेका छन भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामबहादुर सिंहले ९ हजार ७ सय ९७ मत प्राप्त गरेको भेरीगंगाका निर्वाचन अधिकृत नगेन्द्र लम्सालले जानकारी दिए ।
उनले उपप्रमुख पदमा समेत नेकपा एमालेका धनसरा बोहराले ७ सय १ मत अन्तरले नेकपा माओवादीका उम्मेदवार नन्दबहादुर कार्कीलाई हराउँदै विजयी भएको बताए ।
उनका अनुसार बोहराले ९ हजार ६ सय १४ मत प्राप्त गर्नु भएको छ भने उनका निकटतम् प्रतिद्वन्द्वी कार्कीले ८ हजार ९ सय १३ मत प्राप्त गरेका छन् ।
भेरीगंगाका कुल १३ वटा वडा मध्ये नेपाली काँग्रेसले ७ वटामा विजयी हात पारेको छ भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ३÷३ वडा जित्न सफल भएका छन् ।