बलात्कार आरोपीलाई कार्वाहीको मागसहित सुर्खेतमा विरोध प्रदर्शन


स्काई न्यूज/ जेठ ७, सुर्खेत । सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्ष अघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै शनिबार सुर्खेतको वीरेन्द्रनगरमा प्रर्दशन गरिएको छ ।
‘बलात्कारी होस् तँ’ भन्दै वीरेन्द्रचोकमा भेला भएका युवायुवतीले पीडित युवतीलाई तत्काल न्याय दिन र दोषीमाथि तत्काल कार्वाही गर्न सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

बलात्कारीलाई सजाय दे, दोषीलाई कारबाही गर, बलात्कार र यौनजन्य घटनाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना गर, बलात्कार सम्बन्धी घटनाको न्याय निरुपणका लागि देखिएको हदम्याद खारेज गर लेखिएको प्ले कार्ड प्रदर्शन गर्दै प्रदर्शनकारीहरुले बलात्कारमा परेकी पीडित युवतीलाई न्याय दिलाउने कार्यमा ढिलाई नगर्न समेत सरकारलाई सुझाव दिएका छन् ।
बलात्कार घटनाका पीडित ती युवतीलाई न्याय दिलाउने कार्यमा सहयोग गर्न पनि प्रर्दशनकारीले सबैलाई अपिल गरेका छन् ।


यसैवीच सौन्दर्य प्रतियोगिताका क्रममा बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् । आठ वर्षपछि सामाजिक सञ्जालमार्फत पीडित युवतीले सार्वजनिक गरेको भिडियोका आाधारमा प्रहरीले आरोपित पाण्डेलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दियो ।
उनलाई स्वयम्भु क्षेत्रबाट पक्राउ गरिएको हो । उनलाई सोधपुछका लागि बोलाइएको प्रहरीले जनाएको छ । शुक्रबार मात्र प्रहरीले पीडित युवतीलाई भेटेर घटनाबारे जानकारी लिएको थियो ।


