महासंघद्वारा सञ्चार निर्देशिका ल्याउने तयारी


स्काई न्यूज/ जेठ ७, सुर्खेत । नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल नेपालको समन्वयमा सञ्चार निर्देशिका–२०७९, ल्याउने तयारी गरेको छ । महासंघको समन्वयमा शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको कार्यस्थलमा हुने हिंसा र दूव्र्यवहार रोकथाम तथा उन्मूलन सम्बन्धी पत्रकारहरुसँग भएको अन्तरक्रिया कार्यक्रममा ‘सञ्चार निर्देशिका–२०७९’ ल्याउन लागिएको जानकारी गराईएको हो ।

कार्यक्रममा अहिलेपनि सञ्चार गृह तथा छापाखाना कार्यस्थलमा हुने हिंसा र दूव्र्यवहार रोकथाम तथा उन्मूलनका लागि महासंघले अहिले विभिन्न प्रदेशका पत्रकारहरुसँग सल्लाह सुझाव संकलन गरिरहेको महासंघका पूर्व अध्यक्ष डाक्टर महेन्द्र विष्टले जानकारी दिए । उनले विभिन्न देशमा धेरै पहिलेदेखि कार्यान्वयनमा आईसकेको सञ्चार निर्देशिका समय सापेक्षमा अब नेपालमा समेत कार्यान्वयनमा ल्यान आवश्यक रहेकाले अहिले मस्यौदा संकलन कार्य भईरहेको बताए ।


उनका अनुसार ७ खण्ड तथा १७ बुँदा रहेको सञ्चार निर्देशिका–२०७९, को मस्यौदा तयारीका लागि देशमै पहिलो पटक कर्णालीबाट शुभारम्भ गरिएको हो । कार्यस्थलमा हुने विभिन्न हिंसा, दूव्र्यवहार, भेदभाव, शारीरिक तथा मानसिक, यौनिकलगायतका क्रियाकलापको रोकथाम तथा नियन्त्रण गर्ने, लैङगिक हिंसा न्यूनिकरण गर्ने उद्देश्य सञ्चार निर्देशिकामा समावेश गरिएका छन् ।
कानूनसँग नबाझिने गरी स्वअनुशासन, सुरक्षा, संरक्षण र क्षतिपूर्तिलगायतका विषयवस्तुहरु समेत समावेश गरिएको वरिष्ठ पत्रकार बविता बस्नेतले जानकारी दिईन् । उनले कार्यस्थलमा अनुशासनसहित सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्नका लागि समेत सञ्चार निर्देशिका ल्याउन आवश्यक रहेको औल्याईन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, सोलाँडी संस्थाका कृष्णा शर्मा, नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेललगायतले कार्यस्थलमा हुने हिंसा, दूव्र्यवहार रोकथाम तथा नियन्त्रणका लागि जरुरी रहेको धारणा राखें ।


