जनप्रतिनिधिलाई पहिलो निर्णय गर्न तँछाडमँछाड : सिम्ता गाउँपालिकाका अध्यक्षद्वारा व्यक्तिगत सम्पत्ती सार्वजनिक

स्काई न्यूज/ जेठ ११, सुर्खेत । नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको शपथ खाएर पद बहाल गर्दै लोकप्रिय निर्णय गरेको सार्वजनिक गर्न थालेका छन् । पालिका सरकारको गठनले औपचारिकता नपाउँदै पालिका सरकार प्रमुखको हैसियतमा विभिन्न प्रमुख तथा अध्यक्षसँगै वडाअध्यक्षहरुले समेत देखासिखि ‘को भन्दा, को कम’ भन्दै पहिलो निर्णय गर्ने होडबाजी नै चलेको छ । तर, ती मध्येका केही जनप्रतिनिधिहरुले भने साँच्चै जनअपेक्षा र आवश्यकतामा आधारित निर्णयहरु समेत सार्वजनिक गरेका छन् ।
देश भ्रष्टाचारले छियाँ–छियाँ परिरहेका बेला आफुपनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने कसमका साथ केही जनप्रतिनिधिले त्यसको शुरुवात गरेको पाईएको छ । ती मध्येका एक हुन् पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्द । उनले बुधबार विशेष कार्यक्रमका वीच पदभार ग्रहण गर्दै आफ्नो व्यक्तिगत सम्पत्ति सार्वजनिक गरे ।
सम्पत्तिको नाममा सांग्रिला बैंकमा ८ हजार ३ सय ६२ रुपैयाँ र १२५ सिसिको होन्डा साईन बाइक एवं बुबाको नाममा केही जग्गा सहित ४ कोठाको कच्ची घर मात्रै भएको गाउँपालिका अध्यक्ष चन्दको भनाइ छ । उनले आमासँग आठ आनाको तिलहरी, आधा तोलाको गुला मुन्द्रा, २ आनाको औठी, २ आनाको सानो तिलहरी र चाँदीको बाला ५ तोला रहेको बताए ।
‘हामीलाई जनताले ठूलो विश्वास गरेर मत दिएका छन् । जनताको विश्वासप्रति सधैं इमान्दार रहन सबैभन्दा पहिले आफुै बाटै शुरुवात गरेको हुँ,’ उनले स्काई न्यूजलाई भने, ‘जनताको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्नु छ । निर्वाचनको बेला गरेको प्रतिबद्धता र ऐन तथा कानुनहरुको परिधिमा रहेर काम गर्न व्यक्तिगत सम्पत्ती सार्वजनिक गर्न सबैभन्दा पहिले आफैबाट शुरुवात गरेको हुँ ।’

यसरी हेर्दा देशकै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि मध्ये शायद ! आर्थिक हिसाबले सबैभन्दा कमजोर राजनीतिज्ञ चन्दलाई नै लिन सकिने चर्चा बजारमा चलेको छ । पदभार ग्रहण कार्यक्रममा उनीसँगै उपाध्यक्ष गोमा रेग्मीले गाउँपालिका भित्र रहेका अति विपन्न नागरिकको निःशुल्क स्वास्थ्य वीमा गर्ने नीतिगत निर्णय गरे ।
उनले गाउँपालिकाका नागरिक वीच सुशासनका सवालमा अग्रपंक्तिमा रहेर सेवा दिने समेत बताए । सिम्ताका जनप्रतिनिधिहरुको सपथ ग्रहणसँगै पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको बताईएको छ । यसैवीच पश्चिम सुर्खेतको छिमेकी गाउँपालिका कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले बुधबार पदभार ग्रहण गर्दै विभिन्न सात वटा निर्णय गरेका छन् ।
उनले जनयुद्धकालीन घाइते, अपाङ्गहरूको परिचय पत्रका आधारमा उपचारको व्यवस्था मिलाउने पहिलो निर्णय गरे । त्यस्तै शहीद बेपत्ता, द्वन्द्वपीडित र विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई अध्ययन गर्न एक छात्रा र एक छात्रलाई कोटा निर्धारण गर्ने निर्णय गरेका छन् । निःशुल्क बालि तथा पशुपन्छी बीमा कार्यक्रम लागू गर्ने, सामाजिक सुरक्षा भत्ता घरघरमै गई वितरण गर्नेलगायत सात निर्णय उनले गरे ।
सडक सञ्जाल नजोडिएका सबै ठाउँमा सडक विस्तार गर्ने र सुगरखाल र पण्डौन स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पतालमा विकसित गर्ने र भूमिहिन, अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्ने निर्णय गरेको उनले जानकारी दिए । यसरी प्रत्यक्ष निर्वाचित पालिका सरकार प्रमुखले धमाधम लोकप्रिय निर्णय सार्वजनिक गरिरहँदा कतिपयले सस्तो लोकप्रियताका लागि गरेको बताएका छन् । पहिलोपटक नगर प्रमुख बनेका अधिकांश पालिका सरकार प्रमुखले आफ्ना प्रतिबद्धता मध्येका सबैभन्दा प्रमुख एकलाई लोकप्रिय निर्णय गरेको पाईएको छ ।