दैलेख बस दुर्घटनामा मृत्यु हुनेको सनाखत

६० जना घाईतेको प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको

स्काई न्यूज/ जेठ १२, सुर्खेत ।  गएराती कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबीस नगरपालिका–२, सिस्नेमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत भएको छ । मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका–९, का ३२ वर्षिय प्रेम सुनार र ३६ वर्षिय काशीराम पाण्डे, कालीकोटको पलाँता गाउँपालिका–३, का ४६ वर्षिय ज्ञानबहादुर बम र ५५ वर्षिया धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

कालीकोटदेखि सुर्खेत हुँदै नेपालगञ्ज जाँदै गरेको म१ख–६६० नम्बरको बस बुधबार राति दुर्घटना हुँदा चार जनाको घटना स्थलमै मृत्यु भएको थियो । बसमा सवार ७० जना मध्ये ६० जना घाइतेहरुको अहिले प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । ती मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रदेश अस्पतालले जनाएको छ ।


उता जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख, (डीएसपी ) भुवनेश्वर प्रसाद साहका अनुसार अहिले मृत्तकको सनाखतपछि पोष्टमार्टका लागि कानूनी प्रक्रिया शुरु भएको जानकारी दिए । उनका अनुसार बसका चालक र सह–चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारण बारे अनुसन्धान भईरहेको छ ।

बस कर्णाली राजमार्गबाट झण्डै ५० मिटर तल कर्णाली नदीको छेउमा खसेको थियो । बसमा सवार मध्ये ६ जनालाई कुनैपनि चोटपटक नलागेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

Translate »