वीनपाका मेयरद्वारा पूर्वमेयरहरुसँग छलफल


स्काई न्यूज/ जेठ १३, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले समृद्ध वीरेन्द्रनगर निर्माणका लागि नगरका पूर्व मेयरहरुसँग छलफल गरेकी छिन् । उनले वीरेन्द्रनगरको आमुल विकास निर्माण, संमृद्धि तथा सम्भावनाका बारेमा पूर्व मेयरहरुको धारणा र अनुभव लिन छलफल गरेकी हुन् ।
शुक्रबार वीरेन्द्रनगर नगरपालिकाको कार्यकक्षमा भएको फलफल तथा परामर्श कार्यक्रममा मेयर ढकाललाई योजनाबद्ध विकास निर्माणमा जुट्न पूर्व मेयरहरुले सुझाव दिएका छन् ।

विकास निर्माण आवश्यकतामा गर्नुपर्ने भएकाले योजनाको वर्गीकरण गरेर अघि बढ्दा राम्रो हुने उनीहरुको सुझाव थियो । तत्कालिन, अल्पकालिन र दिर्घकालिन विकास निर्माणको खाका तयारी गरी जनताको प्रत्यक्ष सहभागितासहितको विकास उपयुक्त हुने उनीहरुको भनाइ थियो ।
छलफल तथा परामर्श बैठकमा मेयर ढकालले पूर्व मेयरहरुको सल्लाह, सहयोग र समन्वय आफ्ना लागि महत्वपूर्ण रहेकाले वीरेन्द्रनगरको समृद्धिका लागि सबैसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । छलफलमा नगरका पूर्व मेयरहरु यामलाल कँडेल, बालाराम शर्मा, मुकुन्दश्याम गिरी तथा देवकुमार सुवेदी एवं उपमेयर निलकण्ठ खनाललगायतको सहभागिता रहेको थियो ।


