२० ओटा देशमा फैलियो मङ्कीपक्स, उच्च सतर्कता अपनाउन डब्लूएचओद्वारा आह्वान
जेठ १४, जेनेभा । विश्वका २० ओटा देशमा मङ्कीपक्सको संक्रमण पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दिएको जानकारी अनुसार विभिन्न देशमा मङ्कीपक्सबाट संक्रमितहरुको संख्या बढ्दै गइरहेको छ । डब्लूएचओका अधिकारीहरुले विश्वभरि अहिलेसम्म २०० जनामा मङ्कीपक्सको संक्रमण पुष्टि भएको बताएका छन् ।
‘हामीलाई प्राप्त विवरण अनुसार विश्वभरि अहिलेसम्म झण्डै २०० जनामा संक्रमण पुष्टि भएको छ भने अरु १०० भन्दा बढीमा शङ्कास्पद लक्षण देखिएको छ’, डब्लूएचओका अधिकारीले भनेका छन् ।
मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रति दिन फैलिदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन् ।
यस भाइरसका कारण मानिसको मृत्यु नै हुने गरेपछि संक्रमण छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन चिकित्सकहरूले अनुरोध गरेका छन् ।
डब्लूएचओका अधिकारीहरूले संक्रमण देखिएका मुलुकहरूमा थप फैलिन नदिने र नदेखिएका मुलुकहरूमा प्रवेश गर्न नदिनेगरी गरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन् । रासस/ एएनआई