स्थानीय निर्वाचनमा पैसाको चलखेल भयो : पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल

स्काई न्यूज/ जेठ १९, सुर्खेत ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा मतदातालाई प्रभावित पार्न पैंसाको व्यापक चलखेल भएको आरोप लगाएका छन् । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागि हुन विहीबार सुर्खेत आईपुगेका पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले पत्रकार सम्मेलनमा मतदातालाई आफ्नो पक्षमा पार्न राजनीति दलसँगै निर्वाचन आयोगका केही कर्मचारीबाट धाँधलीसँगै पैंसाको चलखेल भएको बताए ।

निर्वाचनमा मनि, मसल र मठभेड जस्ता परिस्थितिले कतिपय स्थानमा ईमानदार नेता, कार्यकर्ता पराजीत हुनु परेको उनको भनाइ थियो । उनले अब आउँने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, र भयरहित बनाउन निर्वाचन आयोगसँगै राजनीतिक दलहरुले समेत विशेष ध्यान पु¥याउन आवश्यक रहेको औल्याए । तत्काल वाम एकता सम्भव नरहेको बताउँदै उनले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच तालमेल हुने हल्लामा कुनै सत्यता नरहेको बताए ।


‘एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना छैन् । अहङ्कारी र षड्यन्त्रकारीहरुले वर्तमान वाम लोकतान्त्रिक गठबन्धन तोड्न अनेक खाले भ्रमहरु फैलाइरहेका छन्,’ उनले भने, ‘हामीमा कुनै पदको लालचा छैन, षड्यन्त्रकारीको भ्रमलाई सजिलै परास्त गर्न सक्छौं ।’ उनले स्थानीय तह निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म अहिलेकै वाम–लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने धारणा व्यक्त गरे ।

हालै सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेट चुनावीमुखी नभएको टिप्पणी गर्दै उनले भने, ‘बजेट चुनावको समयमा आएको हो तर, चुनावीमुखी होइन ।’ उनले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले गर्वलायक सफलता प्राप्त गरेको र कतिपय पालिकामा चुनाव चिन्हको अस्पष्टताले गर्दा सिट गुमाउनु परेको बताए ।

Translate »