सुन्दर हरिजनको मृत्यु : मानव अधिकार आयोगले थाल्यो अनुसन्धान
काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले रोल्पा जिल्ला कारागारमा मृत्यु भएको घटनामा अनुसन्धान सुरु गरेको छ । बाँकेको नेपालगञ्जका सुन्दर हरिजन रोल्पाको जिल्ला कारागारमा सट्टा कैदीबन्दीको रूपमा जेल सजाय भोगिरहेकोे अवस्थामा जेठ ४ गते मृत्यु भएकोे थियो ।
घटनाको विषयमा आयोगले संवेदनशील रुपमा लिई स्वतन्त्र र निष्पक्ष छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, आगामी दिनमा यस प्रकारका घटना नदोहोरिने बातावरणको सुनिश्चितता गर्न तथा व्यक्तिको जीवनको अधिकार संरक्षण गर्ने गराउने कार्यमा संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै घटनाका विषयमा विहीबारदेखि आयोगले स्थलगतरुपमा अध्ययन र अनुसन्धान थालेको जानकारी दिए ।
मोवाइल चोरीको आरोपमा नावालक अवस्थामा कारागार चलान गरिएका हरिजनले हातहतियार मुद्दामा जेल सजाय तोकिएका सुर्खेतका विजयविक्रम शाहको नाममा रोल्पा कारागारमा रहेको अवस्थामा मृत्यु भएको थियो । (कान्तिपुर)