जिसस अछाममा कांग्रेस विजयी
अछाम — जिल्ला समन्वय समिति अछामको प्रमुखमा नेपाली कांग्रेसका ललित कुँवर र उपप्रमुखमा कांग्रेसकै दानमती बम शाही विजयी भएका छन् । साँफेबगर नगरपालिका–८ चण्डीकाका कुँवरले १२ मत ल्याई विजयी हुँदा नेकपा एमालेका उम्मेदवार मंगलसेन नगरपालिका–६ का दुर्गाप्रसाद भण्डारीले ६ मत प्राप्त गरे ।
यसैगरी उपप्रमुखमा कांग्रेसका दानमति बम शाहीले १२ मत ल्याई विजयी हुँदा एमालेका पुतलीदेवी रावलले ६ मत ल्याइन् । सदस्यहरुमा कांग्रेसका चक्राकुमारी रावल, लक्ष्मी स्वर्णाकार, सीता भण्डारी, द्वारिकाप्रसाद उपाध्याय, नरेन्द्रबहादुर कुवँर (एन प्रताप) र पूर्णबहादुर रावल तथा दलित सदस्यमा माओवादी केन्द्रका प्रभात विश्वकर्मा विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दलित सदस्यमा एमालेका उम्मेदवारले गठबन्धनको १ मत प्राप्त गर्न सफल भएका छन् । एमालेको ६ मत भए पनि एमाले उम्मेदवार सुरत कामीले ७ मत प्राप्त गरेका हुन् । १० पालिकाका २० मत रहेको अछाममा १८ मतमात्रै खसेका थिए । २० मतमध्ये कांग्रेसका ११, एमालेका ६, माओवादी केन्द्रका २ र एकीकृत समाजवादीका १ मत रहेका छन् । (इकान्तिपुर)