भेरी अस्पतालमा बिरामीको चाप बढ्दै


नेपालगञ्ज । गर्मी बढेर अन्य रोगका बिरामी देखिए पनि यस वर्ष भेरी अस्पताल नेपालगञ्जमा ज्वरोका बिरामी देखिएका छैनन् । पहिले ज्वरोका बिरामी धेरै अस्पताल आउँथे तर यस वर्ष ज्वरोका बिरामी आएका छैनन् ।

भेरी अस्पतालका सूचना अधिकारी डा. संकेतकुमार रिसालले कोभिड खोपका कारण पनि त्यस्तो भएको हुन सक्ने उल्लेख गर्दै झाडापखालाका बिरामी अस्पतालमा बढी भएको जानकारी दिए । अस्पतालमा प्रतिदिन १०० देखि १५० जनासम्म विभिन्न रोगका बिरामी आउने गरेका छन् । बालबालिकादेखि वृद्धसम्म झाडापखाला, दम, टाउको दुख्ने लगायतका बिरामीले अस्पताल भरिभराउ भएको डा. रिसालले बताए ।
उनले सर्पदंशका बिरामी पनि यसवर्ष कम भएको उल्लेख गर्दै वृद्धमा दमको समस्या बढी भएकाले उपचारका लागि आउने गरेको बताए । भेरी अस्पतालबाहेक यहाँका नेपालगञ्ज मेडिकल कलेज, रामजानकी अस्पताल, वेष्टर्न अस्पताललगायतमा झाडापखाला, दम, टाउको दुखेका बिरामी देखिएका छन् । रासस

