नेपालगञ्जका हरिजनका नाममा छुटेका सुर्खेतका शाह भारतीय कारागारमा
जेठ २४, सुर्खेत । रोल्पा कारागारबाट शंकास्पद रूपमा छुटेका सुर्खेतका विजयविक्रम शाह लागूऔषध मुद्दामा भारतको उत्तर प्रदेशको कारागारमा रहेको पाइएको छ । उनका नाममा रहेको एक बैंक खातामा केही महिनाअघि मात्रै ११ लाख रुपैयाँ जम्मा भएको पनि खुलेको छ ।
कारागार प्रकरणबारे थप प्रमाण जुटाउन नेपाल प्रहरीको अनुसन्धान टोली शाहलाई भेट्न भारत जाने तयारीमा रहेको स्रोतले जनाएको छ । शाहका नाममा रकम जम्मा गर्ने व्यक्तिमाथि पनि अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । ‘प्रहरीको फरार सूचीमा रहेको व्यक्तिका नाममा किन र केका लागि रकम जम्मा भयो भन्ने विषय पनि शंकास्पद देखिन्छ,’ स्रोतले भन्यो ।
शाहका नाममा रोल्पा कारागारमा सजाय भुक्तान गरिरहेका बाँकेको नेपालगन्जका सुन्दर हरिजन गत जेठ ४ मा शौचालयमा मृत अवस्थामा फेला परेका थिए । कारागार प्रशासनको अभिलेखअनुसार शव शाहको परिवारलाई बुझाउने प्रक्रिया अघि बढाउँदा मात्रै उनी हरिजन भएको खुलेको थियो । त्यसपछि अनुसन्धान गर्दा हातहतियार खरखजाना र फिरौती असुलको कसुरमा जेलमा रहेका सुर्खेत बराहताल–१, घोडाआँखेका शाह सुन्दर हरिजनका नाममा जेलबाट छुटेर फरार भएको खुलेको थियो ।
हरिजन र शाहलाई २०७७ मंसिर ८ मा बाँके कारागारबाट रोल्पा कारागार सारिएको थियो । त्यसको करिब २ महिनापछि पुस २८ मा शाह छुटेका थिए ।
उनी चोरीको अभियोगमा दोषी ठहर भई रोल्पा कारागारमा रहेका हरिजनले भुक्तान गरेको सजाय आफ्नो नाममा देखाएर छुटेका थिए ।
छुटेको केही सातामै शाह भारत पसेको र पछि लागूऔषध मुद्दामा पक्राउ परेर उतैको कारागारमा रहेको स्रोतले जनाएको छ । सुर्खेतका एसपी पदम विष्टका अनुसार रोल्पा कारागारबाट छुटेपछि शाह दोस्रो विवाह गरी भारत पसेका थिए । हरिजनले भुक्तान गरेको सजायमा शाह छुटेको पाइएपछि गृह मन्त्रालयद्वारा सहसचिव सूर्यप्रसाद सेढाईंको संयोजकत्वमा गठित समितिले स्थलगत छानबिन गर्दैछ । उता बाँके जिल्ला अदालतले हातहतियार मुद्दामा शाहलाई २ महिनाअघि दोषी ठहर गरेको छ । (ई-कान्तिपुर)