सल्यानमा युवकमाथि धारिलो हतियार प्रहार

 

सल्यान । सल्यानमा युवकमाथि धारिलो हतियार प्रहार गरी एक समूह फरार भएका छन् ।


जिल्लाको शारदा नगरपालिका–२ खलङ्गास्थित मध्यपश्चिम होटलमा खाजा खाइरहेका शारदा नगरपालिका–२ जोगीदेउखोलाका १८ वर्षीय ओपेन्द्र केसीमाथि एक समूहले धारिलो हतियार प्रयोग गरी घाइते बनाएको हो ।

धारिलो हतियार प्रहार गर्ने सल्यान शारदा नगरपालिका–२ का १९ वर्षीय रुपेश बुढाथोकी, डाँडा गाउँकै अन्दाजी १८ वर्षीय प्रशान्त (थर नखुलेको), शारदा नगरपालिका –१ पटनेरीका १८ वर्षीय विवस हमाल र सुर्खेत गुर्भाकोट नगरपालिका –९ का १९ वर्षीय सागर पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हतियार प्रहार गर्ने चारै जना फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए । घाइते केसीको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उनको भनाई छ ।

Translate »