युवकमाथि छुरा प्रहार गर्ने एक जना पक्राउ

 

सल्यान । जिल्लाको शारदा नगरपालिका–२ जोगदेखोला बस्ने १८ वर्षीय ओपेन्द्र केसीलाई सामूहिक रुपमा छुरा प्रहार गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

खोजतलास गर्दै जाँदा लुकेर बसेको अवस्थामा प्रहरीले शारदा नगरपालिका–२ डाँडा गाउँका १८ वर्षीय युवराज बुढाथोकीलाई पक्राउ गरेको हो ।

जिल्ला सदरमुकामस्थित त्रिभुवन जनता माध्यमिक विद्यालय लुहापिङबाट प्लस टूको परीक्षा दिएर पुरानो बसपार्कस्थित मध्यपश्चिम होटलमा खाजा खाइरहेका केसीलाई बुधवार दिउँसो बुढाथोकीलगायत शारदा नगरपालिका–२ डाडागाउँ बस्ने १८ वर्षीय रुपेश बुढाथोकी, पटनेरीका १८ वर्षीय विवश हमाल र गुर्भााकोट नगरपालिका सुर्खेतका १९ वर्षीय सागर पुनले छुरा प्रहार गरेका थिए ।

पक्राउमा परेका बुढाथोकीलाई प्रहरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए।

उनका अनुसार ज्यान मार्ने उद्योगमा आफन्तले जाहेरी दिएपछि पक्राउ परेका बुढाथोकीलाई जिल्ला अदालतमा म्याद थप गरिएको छ ।

छुरा प्रहारमा संलग्न चारमध्ये तीन जना अझै फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

छुरा प्रहारबाट दाहिने हात र कोखामा चोट पुगेका कारण गम्भीर घाइते भएका केसीको जिल्ला अस्पतालमा सामान्य उपचारपछि अहिले नेपालगन्जमा थप उपचार भइरहेको छ । (रेडियो नेपाल)

Translate »