कतारको आवासीय राजदूतमा सुर्खेतका डा. नरेशविक्रम ढकाल नियुक्त

स्काई न्यूज/ जेठ २६, सुर्खेत । राष्ट्रपति विद्यादेवी भण्डारीले डा.नरेशविक्रम ढकाललाई कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् ।

संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई विहीबार कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।
कतारका लागि नियुक्त भएका राजदूत ढकाल राजनीतिक भागबण्डाको आधारमा नेपाली कांग्रेसको कोटाबाट राजदूत सिफारिसमा परेका व्यक्ति हुन् ।

यसअघि उनी कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको सामाजिक सल्लाहकारमा प्रदेश राज्यमन्त्री सरह सुविधा पाउने गरि नियुक्त भएका थिए । उनी सुर्खेतको गुर्भाकोट नगरपालिका–२, का स्थायी बासिन्दा समेत हुन् ।

ढकालले भारतको श्री सत्यशाही यूनिभरसिटी अफ टेक्नोलोजी एण्ड मेडिकल साइन्सेस मध्यप्रदेशबाट शिक्षामा विद्यावारिधी गरेका छन भने अंग्रेजी र नेपालीबाट स्नात्तकोत्तर गरेका छन् ।

सरकारले गत २५ चैतमा २० जनालाई विभिन्न देशको राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

Translate »