माइलाको उद्दार गर्न ककनी उड्यो सेनाको हेलिकप्टर

जेठ २८, काठमाडौं । नेपाली सेनाको उद्दार टोली ककनी प्रस्थान गरेको छ।
नुवाकोटको ककनी गाउँपालिका-७ स्थित त्रिशूली ‘थ्रि ए’ मा झुन्डिएका पुरूषको उद्दार गर्न नेपाली सेनाको टोली खटिएको हो।
काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर साँझ ६:३३ मिनेटमा उडेको सेना प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए।
‘हेलिकप्टर उडिसकेको छ। घटनास्थलमा प्रहरीको टोली पनि छ। उनीहरूसँग समन्वय भइरहेको छ,’ उनले भने,‘विपद व्यवस्थापन सहितको टोली गएको हो।’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नुवाकोटको ककनीस्थित प्रसारण लाइनमा झुन्डिएर बसेका बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विकको उद्दार गर्न नेपाली सेनासँग सहयोग माग गरेकी थिइन्।
माइला बिहान १० बजेदेखि सोही प्रसारण लाइनमा झुन्डिएका छन्। उनी तल झर्न मानिरहेका छैनन्।
प्रहरीका अनुसार विकको मानसिक सन्तुलन गुमेको छ। जसकारण पनि उनको उद्दारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
बिहान स्थानीयले उनलाई पोलमा चढेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। करेन्ट लाग्न सक्ने डरले विद्युत प्राधिकरणलाई पनि खबर गरिएको थियो। (सेतो पाटी)