छात्र तर्फको जन नमूना माविलाई र छात्रा तर्फको एसओएसलाई फुटवलको उपाधि

स्काई न्यूज/ असार १, सुर्खेत ।  कर्णाली प्रदेशका दुई चर्चित विद्यालय जन नमूना माध्यमिक विद्यालयले छात्र तर्फको र एसओएस सुर्खेतले छात्रा तर्फको फुटबल उपाधि जितेका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले अन्तर्राष्ट्रिय ओलम्पीक डे को अवसर पारेर आयोजना गरेको सप्ताहव्यापी खेलकुद कार्यक्रमको फुटलव तर्फको उपाधि जन नमूना मावि र एसओएसले हात पारेका हुन् । जन नमूना माविको खेल मैदानमा भएको यु–१२, ग्रासरुट फुटबल प्रतियोगितामा छात्र तर्फ जन नमूना माविले ३–१ गोल अन्तरले नवज्योति स्कूललाई हराउँदै उपाधि जितेको हो ।

उता छात्रा तर्फको फुटवलमा एसओएसले २–० गोल अन्तरले कोपिला भ्याली स्कूललाई पराजित गर्दै विजेता बनेको छ । प्रतियोगितामा वीरेन्द्रनगर नगरपालिका भित्रका १० वटा विद्यालय सहभागि भएका थिए । पुरस्कार वितरण कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाल, जन नमूना माविका प्रधानाध्यापक यामबहादुर श्रेष्ठ, कर्णाली फुटबल संघका महासचिव गणेश कार्की, एन्फा प्रशिक्षक नवीन भण्डारी, एन्फा रेफ्री चन्द्रप्रकाश शाही, एन्फा म्याच कमिश्नर अनिश पन्त, पाराओल्पिक खेलाडी भबिन्द्र रोकाय, वीरेन्द्रनगर–६, का वडाध्यक्ष जनकबहादुर रावल लगायतको उपस्थिती रहेको थियो ।

Translate »