गुर्भाकोटमा ट्रक दुर्घटना हुँदा दुईको मृत्यु

असार ४ सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–९ स्थित भालुखोला चौपारीडाँडामा आज ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ना ४ ख ९७६१ नम्बरको मालबाहक ट्रक दुर्घटना हुँदा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ बस्ने २४ वर्षीय भीमबहादुर नेपाली र जाजरकोट नलगाढ नगरपालिका–१२ बस्ने २४ वर्षीय मिलन गुरुङको ट्रकमुनी च्यापिएर मृत्यु भएको हो । भीमबहादुर उक्त ट्रकका चालक हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार दुई जना ट्रकमुनी च्यापिएको अवस्थामा फेला पारेपछि प्रहरीले क्रेनको मद्दतबाट शव निकालेको जानकारी दिए। दाङबाट सिमेन्ट र सरिया लोड गरी उक्त ट्रक जाजरकोटका लागि छुटेको थियो । ट्रक सडकभन्दा करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।