जापानमा किन बढ्दैछ नेपालीको आत्महत्या ?

लाखौं खर्चेर उच्च शिक्षा हासिल गर्न जापान आइपुगेका नेपाली विद्यार्थी किन आत्महत्याको बाटो रोजिरहेका छन् ? हरेक नेपालीको मनमा यो प्रश्न उब्जिनु स्वाभाविक हो । नेपालमा कल्पना गरिएको जापान र वास्तविक जापान बीचको असन्तुलनका कारण नेपाली विद्यार्थीले जापानमा आत्महत्या रोजिरहेका छन् ।

जापान नेपाली नागरिकका लागि उच्च शिक्षा अध्ययन, व्यवसाय र रोजगारीको आकर्षक गन्तव्य हो । विश्वको तेस्रो ठूलो आर्थिक शक्ति, स्वास्थ्य, शिक्षा, सहज जीवनशैली, सुरक्षाको प्रत्याभूतिले जापान विश्वभरका नागरिकको रोजाइको देश बन्दै आएको छ । यसरी उच्च शिक्षा अध्ययनका लागि जापानमा रहेका विदेशीहरुको तथ्यांकमा नेपालीको संख्या पनि धेरै छ ।

सुन्दर भविष्यको कल्पना गर्दै जापान आइपुग्ने विद्यार्थीको चाप बढेसँगै आत्महत्याका घटना पनि धेरै सुनिन थालेका छन् । पछिल्लो १५ दिनमा जापानमा ३ जना नेपालीले आत्महत्या गरेको समाचार आएको छ ।

लाखौं खर्चेर उच्च शिक्षा हासिल गर्न जापान आइपुगेका नेपाली विद्यार्थी किन आत्महत्याको बाटो रोजिरहेका छन् ? हरेक नेपालीको मनमा यो प्रश्न उब्जिनु स्वाभाविक हो । नेपालमा कल्पना गरिएको जापान र वास्तविक जापानबीचको असन्तुलनका कारण नेपाली विद्यार्थीले जापानमा आत्महत्या रोजिरहेका छन् । सपनाको देश मानेर जापान आइपुग्ने विद्यार्थीले यहाँ आइपुगेपछि देखा पर्ने मानसिक तनाव, नैराश्यतालाई हल गर्न नसक्नु पनि प्रमुख समस्या बन्ने गरेको छ ।

जापान आइपुगेसँगै चाँडो कमाइ भइहाल्छ भन्ने महत्वकांक्षा पूरा नहुँदा आत्महत्या जस्तो गलत निर्णय नेपाली विद्यार्थीले गरिरहेका छन् । उनीहरुमा धैर्य, सहनशीलताको कमी पनि देखिएको छ । जसको एक उदाहरण : केही दिन अघि जापानको नागोयामा एक नेपाली विद्यार्थीले जापान आएको १२ दिनमा पनि काम पाइएन भनेर आत्महत्या गर्नु ।

जापान नआउँदै नेपाली विद्यार्थीले यति कमाइन्छ भनेर आकलन गर्ने गर्छन् । विद्यार्थी पठाउने र पैसा कमाउने लोभमा नेपालका अधिकांश कन्सल्टेन्सीले झुटो आश्वासन दिन्छन् । कन्सल्टेन्सीले विद्यार्थीलाई विदेश पठाउने मोह सिर्जना गर्नका लागि अनेक विज्ञापनहरू गर्छन् । मानौं, भिसा पाउँदै जिन्दगी कायापलट हुन्छ । तर, जापानमा आएपछि काम नपाइने, काम पाइहाले भिसाले तोकेका सीमितता र नियमहरुको पालना गर्नुपर्ने हुँदा सोचे जति कमाइ हुँदैन ।

जापानमा नेपालीलाई काममा सहयोग गर्नका लागि भनेर खोलिएका फेसबुक पेज वा वेबसाइट प्रसस्त भेटिन्छन् । दु:खद् कुरा त काम नपाएर पीडित नेपालीलाई कम पैसामा काम लगाउने र शोषण गर्नेमा विदेशी भन्दा नेपाली नै छन् । कतिपय नेपालीले केटालाई काम लगाइदिन्छु भन्दै रकम असुल्ने र केटीहरूलाई यौन शोषण गर्ने गरेका घटनाहरू पनि बारम्बार सार्वजनिक हुँदै आएका छन् ।

विद्यार्थी बनेर विदेशी जाँदा कति कुरामा ध्यान दिनुपर्छ, भोलि मर्का पार्न सक्ने विषयहरू केके हुन्, कस्ता उतारचढाव आउन सक्छन् भनेर यसको गुण र दोषका विषयमा कन्सल्टेन्सीले नेपालमा नै परामर्श दिने हो भने जापान आइसके पछिका कठिनाइसँग जुध्न विद्यार्थीलाई सहज हुन्छ ।

ऋण गरेर जापान आइपुग्ने विद्यार्थीलाई कसरी राम्रो पढ्ने भन्दा पनि आउँदा लागेको खर्च कसरी उठाउने भन्ने पिर पर्न थाल्छ । परिवारबाट पैसा पठाउन बारम्बार ताकेता आउनु उनीहरूको टाउको दुखाइको विषय बन्ने गरेको छ । जापान आएर विशुद्ध रुपमा अध्ययन मात्र गर्ने विद्यार्थी नगन्य मात्रमा छन् । अभिभावक पनि कमै होलान्, जसलाई सन्तानको कमाइ नभएर शिक्षाको चिन्ता छ ।

नेपालमा १२ कक्षा पढ्ने वित्तिकै विद्यार्थीहरू विदेश जाने सपना देख्न थाल्छन् । धेरै विद्यार्थीको रोजाइमा जापान पनि पर्ने गरेको छ । बुबाको साथ र आमाको काख छाडेर विदेशी भूमिमा रम्न जोकोहीलाई गाह्रो हुनु स्वाभाविक हो । पारिवारिक सुखसयलमा जीवन बिताइरहेका उनीहरुले विदेश आएसँगै ठूलो जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ । कमाएर खानुपर्ने, कलेजको शुल्क तिर्नुपर्ने, महँगो कोठाभाडा, परिवारबाट बारम्बार पैसा पठाउनुपर्ने दबाबका कारण नेपाली विद्यार्थीलाई मानसिक तनाव बढेर जान्छ । अझ भनौं, कलिलै उमेर वा कलिलो दिमागले चौतर्फी दबाव झेल्न नसक्दाको परिमाण गलत आइरहेको छ ।

विदेश पुगेपछि घरको याद आउनु, एक्लो महसुस गर्नु स्वाभाविक हो । तर, यी कुराहरुलाई सामान्य लिन नसक्दा कतिपय विद्यार्थी डिप्रेसनमा पुग्ने गरेका छन् । विदेशमा रहेको आफ्नो सन्तानलाई ऊर्जा र उत्साह जगाउन परिवारले फोन सम्पर्कबाटै भए पनि निगरानी गर्नुपर्छ । छोराछोरीलाई विदेश पठाएपछि अधिकांश अभिभावक आफ्नो जिम्मेवारी पूरा भएको महसुस गर्छन् । उनीहरू कठिन दैनिकीका विषयमा खासै ध्यान दिंदैनन् । त्यस्तै, नेपालबाट आउने अधिकांश विद्यार्थी साथी भाइको लहलहैमा लागेर जापान आइपुग्छन् । आफैं अध्ययन गरेरे, यहाँको अवस्थाबारे बुझेर मात्र आउने कमै छन् ।

विद्यार्थी भिसामा मात्र नभएर अन्य भिसामा जापानमा बस्दै आएका नेपालीले पनि आत्महत्या गरेका समाचार बेलाबखत आउने गरेका छन् । जापानमा प्रौढ नेपालीले चाहिं किन गर्छन् आत्महत्या ? बुढ्यौली तर्फ उन्मुख हुनु, भनेजति कमाई नहुनु, कामको बाेझ, पारिवारिक तनाव, गम्भीर स्वास्थ्य समस्याका कारण पाका नेपालीले आत्महत्या गर्दै आएका छन् । गत हप्ता मात्र जापानमा कुक भिसामा आएका एक नेपाली पुरुषले घरको आठौं तलाबाट हाम फालेर आत्महत्या गरे । परिवारसहित टोकियोको खाचुसिकामा बस्दै आएका उनले जापान सरकारले उपलब्ध गराउने सहुलियत घरबाट हाम फालेर आफ्नो ज्यान आफैं लिए ।

लाखौं आम्दानी गर्ने सोचले जापान आए पनि भनेजति आम्दानी नहुँदा आत्महत्याका घटना बढेका हुन् । जापानमा कमाइ भएको ठूलो हिस्सा घरभाडा, गाडी, सरकारी सामाजिक सुरक्षा कार्यक्रममै खर्च हुन्छ । यसबाहेक अन्य कामका लागि पैसा बचाउन धेरै मेहनत गर्नुपर्ने हुन्छ । त्यसमा कमै नेपालीको मात्र खटेर काम गर्ने बानी हुन्छ । जापानी नागरिक भने कामलाई उच्च प्राथमिकतामा राख्छन् । नेपालमा कम काम गर्ने तर, जापान आएपछि रातदिन नभनी काममा खट्नुपर्दा पनि आत्महत्या गर्नेको संख्या बढेको छ । विदेशमा भाषा, संस्कृति आफू सुहाउँदो नहुँदा, नेपाल फर्कन नपाउँदा पनि यहाँ धेरै नेपाली पीडामा रहेका हुन्छन् ।

व्यस्त जीवनशैली र एक्लोपन पनि नेपालीले आत्महत्या गर्नुको कारण रहेको छ । एकान्तसँग जुध्न नसक्दा र समाजमा आफ्नो कुनै स्थान नदेख्दा कतिपय नेपाली आत्महत्या गर्छन् । कतिपय नेपालीहरु रमाइलोको नाममा लागूऔषध दुर्व्यसनीमा फस्ने गर्छन् । नियमित रुपमा रक्सी सेवन गर्ने व्यक्तिले पनि आत्महत्या गरिरहेका छन् । कमाए जति पैसा रक्सीमा खर्च हुँदा दैनिकी चलाउनै समस्या हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार बर्सेनि विश्वमा ६ लाख ५० हजार मानिसले आफ्नो ज्यान लिने गरेका छन् । विश्वमा सबैभन्दा बढी आत्महत्या गर्ने देश जापान रहेको छ । सन् २०१५ मा जापान सरकारले गरेको एक सर्भेक्षणमा जापानमा प्रति एक लाख मानिसमा १८.५ जानले आत्महत्या गर्ने गरेका छन् । सरकारले यो प्रतिशत घटाएर आगामी सन् २०२५ सम्ममा प्रति एक लाखमा १३ जना मात्र सीमित गर्ने कार्याक्रम सञ्चालनमा ल्याएको छ ।

जापानमा पछिल्लो वर्षमा आत्महत्याको संख्या विगतका वर्षमा भन्दा घट्दै भने आएको छ । जापानमा चर्चित जापानीज व्यक्तिहरुले समेत आत्महत्या गर्दै आएका छन् । भनौं, हाइ प्रोफाइल आत्महत्याको कारण जापान पीडित देश हो । आत्महत्या जापानी संस्कृतिको एक अंगको रुपमा पनि रहेको छ । सामुराइ संस्कृतिमा आत्महत्यालाई पवित्र तथा महत्वपूर्णसमेत मान्ने परम्परागत सोच जापानमा छ ।

अर्थतन्त्र धरासायी बनेर रोजगारी गुमेको कारण जापानमा सन् १९९० को अन्त्यतिर आत्महत्याको दर धेरै थियो । जापान सरकारले आत्महत्या घटाउन वार्षिक करोडौं बजेट घोषणासमेत गर्ने गर्छ । सोमार्फत सर्वसाधारणलाई परामर्श दिने काम जापान सरकारले समय समयमा गर्दै आएको छ । (अनलाइन खबर)

Translate »