२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

सुर्खेतमा बर्डफ्लु देखियो



असार ९, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातापानीस्थित एक टर्की फर्ममा बर्डफ्लु देखिएको पुष्टि भएको छ ।

केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा आज गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु देखिएको पुष्टि भएको हो ।

एक सय बढी टर्की मरेपछि परीक्षणका लागि नमुना काठमाडौँ पठाइएको थियो । पशुपक्षी विकास निर्देशनालय सुर्खेतका प्रमुख प्रचण्ड खड्काले टर्की बर्डफ्लुकै कारण मरेको पुष्टि भएको जानकारी दिए ।

बर्डफ्लु पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालयमा बसेको बर्डफ्लु नियन्त्रण समितिको आकस्मिक बैठकले चार किल्ला तोकेर टर्की, कुखुरालाई नष्ट गर्न निर्देशन दिएको छ ।

पशुपक्षी विकास निर्देशनालयले पशु चिकित्सकसहितको टोली पुगेर बर्डफ्लु देखिएको स्थानदेखि ५०० मिटरसम्म क्षेत्रमा पालिएका पक्षीलाई नष्ट गर्ने तयारीमा रहेको जनाएको छ ।

बर्डफ्लु फैलिएको फर्ममा साना ठूला गरी करिब एक हजार ५०० बढी टर्की छन् ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बर्डफ्लु फैलिन नदिन सुर्खेत उपत्यकाका किसानलाई सजग गराइएको बताए।

उनले भने ‘आफूले पालेको पक्षीमा शङ्कास्पद लक्षण देखिएमा उपभोग तथा बिक्री वितरण रोकेर पशु चिकित्सकलाई खबर गर्न आग्रह गरेका छौँ ।’

प्रकाशित मिति : २०७९ असार ९ गते बिहीबार
Translate »