पर्यटनमन्त्री आलेले राजीनामा पत्र बुझाए

असार १२, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका छन् । पार्टी केन्द्रीय कार्यालय मीनभवनमा पुगेर मन्त्री आलेले राजीनामा पत्र बुझाएको अध्यक्ष नेपालनिकट स्रोतले जनाएको छ । करिब साढे ११ बजेतिर आले पार्टी कार्यालय आउनु भएको थियो । अध्यक्षलाई राजीनामा बुझाउनु भएको छ,’ नेपाल निकट स्रोतले भन्यो।
शुक्रबारको पोलिटब्युरो बैठकमा पनि मन्त्री आलेले ४८ घण्टाभित्र राजीनामा बुझाउने बताएका थिए । एकीकृत समाजवादीका अध्यक्ष नेपालले भ्रातृ संगठन अखिल नेपाल महिला संघको बैठकमा पनि केही मन्त्रीको राजीनामा आइसकेको र आफूले खल्तीमा हालेर हिडेको जानकारी दिएका थिए । जेठ २२ गतेको सचिवालय बैठकले मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरे पनि मन्त्रीहरुले असन्तुष्टि जनाउँदै आएका थिए । ई–कान्तिपुर ।

Translate »