कर्णाली प्रदेश सभाको बैठक अवरोध कायमै

स्काई न्यूज /असार १६, सुर्खेत ।  कर्णाली प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण सभाको दशौं अधिवेशनको १८औं बैठक अवरोध कायमै रहेको छ । बैठक सञ्चालनका लागि सत्ता साझेदार दलका नेता र प्रतिपक्षी दलबीच पटक–पटक बस्दा पनि सहमति हुन नसक्दा असार १२ गतेदेखि स्थगित बैठक विहीबारसम्म सुचारु हुन सकेको छैन ।

स्थगित सदन सुचारुका लागि बुधबार कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले आव्हान गरेको सर्वदलीय बैठकमा सहमति नजुटेपनि भोलि विहान ८ बजे बैठक पुनः बस्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिईन् । कर्णाली प्रदेश सभा सदस्य तथा पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री समेत रहेकी अध्यक्ष केसीले सबै दलको सहमतिमा अब असार २३ गते प्रदेश सभा बैठक बस्ने सममति भएको बताईन् ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले चालु तथा आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ दिएसँगै १८ औं बैठकको सुरुआतमै प्रतिपक्षी दलका नेता यामलाल कँडेलले प्रदेश सरकारले चालु आव २०७८/७९ बजेटमा गठबन्धन सरकारले एमालेसँग गरेको सहमति कार्यान्वयन नगरेको जनाउँदै विरोध गरेपछि प्रदेशसभा बैठक स्थगित हुँदै आएको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका सवालमा सरकारले एमालेसँग सहकार्य गरेर अघि बढ्ने लिखित सहमति कार्यान्वयन नगरेको, आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको किताब तथ्य नभएको तर सुदूरपश्चिमका तीन जिल्लासमेत कर्णालीको बजेटमा समेटेर ल्याएको बजेटमा असर्थनको प्रतिक्र्रिया दिएर गल्तिहरु नसच्चाएसम्म सभा सञ्चालन गर्न नदिने भन्दै एमालेले बैठक अवरोध गर्दै आईरहेको छ ।

Translate »