छड्के अनुगमनमा सुर्खेत मालपोत कार्यालयका ७ जना कर्मचारी भेटिएनन्
स्काई न्यूज/ असार १७, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले गरेको छड्के अनुगमनका क्रममा मालपोत कार्यालयका ७ जना कर्मचारी अनुस्थित रहेको पाईएको छ । सेवाग्राहीले कार्यालय समयमा कर्मचारी नआउने गरेको गुनासो गरेपछि प्रशासन कार्यालयले शुक्रबार गरेको छड्के अनुगमनका क्रममा मालपोत कार्यालयका ७ जना कर्मचारी अनुपस्थित रहेको पाईएको हो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नागरिकसँग प्रत्यक्ष सम्बन्ध जोडिएका बढी भिडभाड हुने मालपोत जस्ता कार्यालयका कर्मचारी कार्यालय समयमा नआउँदा सेवाग्राहीले अनाहकमा सास्ती भोग्नु परिरहेकाले अनुगमनलाई थप निरन्तरता दिईने बताए । उनले कार्यालय समयमा अनुपस्थित रहेका कर्मचारीलाई स्पष्टीकरण सोधेर विदा नलिएकालाई गयल कट्टी बनाएर कानून अनुसार कार्वाही गरिने जनाए ।
उनका अनुसार गयल कट्टी हुने कर्मचारीको गयल बराबरको सेवाअवधि कम हुने नियम रहेको छ । अनुगमनमा मालपोत कार्यालयका कुल ३३ जना कर्मचारी मध्ये ७ जना अनुपस्थित रहेको पाईएको थियो । छड्के अनुगमन टोलीले मालपोत कार्यालयका कर्मचारीको हाजिरी पुस्तिका समेत प्रशासन कार्यालयमा लगेछ ।
उता दल बलसहित पुगेको छड्के अनुगमन टोलीको भनक थाहा पाउने वित्तिकै नापी कार्यालयका सबै कर्मचारीहरु आ–आफ्नो नियमित कार्यमा जुटेको पाईएको थियो । मालपोत कार्यालय प्रमुख सन्तोष विक र नापी कार्यालयका प्रमुख राजेन्द्र थापालाई छड्के अनुगमन टोलीले सेवाग्राहीलाई दिने सेवामा कुनै कन्जुसाई नगर्न निर्देशन दिएको छ ।
बढी भिडभाड हुने सरकारी कार्यालयहरुमा छड्के अनुगमन टोली पुग्ने खबरले अन्य कार्यालयका कर्मचारीहरुमा समेत हड्कम्प मच्चिएको बताईएको छ ।
अनुगमनमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, सहायक प्रमुख जिल्लाअधिकारी ईश्वरीप्रसाद पाण्डे, सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्ट, प्रशासकीय अधिकृत पदमलाल लामिछाने, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनाल, नागरिक अगुवा पिताम्वर ढकाल, राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारी र पत्रकारलगायतको सहभागिता रहेको थियो ।