अन्तरिक्षयात्री बनिन् दाङकी ज्योती


असार १८, दाङ । पाँच वर्षअघि दाङ भालुवाङकी ज्योती केसीलाई ‘डिभि’ चिठ्ठाले अमेरिका तान्यो । उनको अमेरिका यात्राको एक मात्रै लक्ष्य थियो– पारिवारिक आर्थिक स्तर माथि उकास्ने । अर्थात उनका लागि अमेरिका मनग्य कमाई गर्ने केन्द्र बनेको थियो। तर अमेरिका उनका लाथि आर्थिक कमाई गर्ने ‘शहर’ मात्रै बनिदिएन। उनका लागि अमेरिका अध्ययन÷खोज अनुसन्धानको बिशाल ‘किताब’ पनि बनिदियो । अमेरिका पुगेको दुई वर्षसम्म ज्योती त्यहाँ रोजगारीमा लागिन् संगै अमेरिकाको जागिरे यात्राले उनलाई बृहत अध्ययनको बाटोमा लगायो । अनि ५ वर्षपछि अहिले ज्योती अन्तरिक्षयात्री बनेर घर फिरेकी छिन् । सम्भवतः उनी नै नेपालको पहिलो अन्तरिक्षयात्री पनि हुन् । आर्थिक स्तर उकास्न अमेरिका रोजगारीमा रहेकी ज्योतीका लागि अमेरिकी वायु सेना बन्ने ‘ख्वाब’ जागिरहेको थियो । फलतः उनले अमेरिका पुगेको तीन महिनादेखिनै उनले अमेरिकी वायु सेना बन्ने तयारी थालिसकेकी थिइन् ।
उनलाई अमेरिकी वायु सेनाका लागि अमेरिकी सरकारले छनौट गर्यो। ‘म अमेरिकामा अर्कै जागिरमा थिए, तर अमेरिकी वायु सेना बन्ने तयारी पनि गरिरहेको थिए,’ ज्योतीले भनिन्, ‘अमेरिकी सरकारले फ्रि कोटामा मेरो नाम निकालिदियो ।’ अमेरिकी वायु सेनामा नाम निस्किएपछि उनको १३ महिनाको तालिम सुरु भयो । ‘अमेरिकी सरकारले मेरो क्षमताको कदर गर्यो र मलाई फ्रि कोटामा सेलेक्ट गर्यो,’ उनले भनिन्, ‘१३ महिनासम्म हाम्रो ट्रेनिङ चल्यो, अनि म एयर फोर्स आर्मी बने ।’झण्डै तीन वर्ष अमेरिकी वायु सेनाको जागिरकै क्रममा उनका लागि अन्तरिक्ष यात्री बन्ने अर्को अवसर आयो । त्यसोत, अमेरिकी वायु सेना उनका लागि यो अवसर मात्रै थिएन, उनको जागिर सहजताका लागि थप कोशेढुंगा पनि थियो ।


‘यो अवसर मेरा लागि निकै राम्रो थियो, मैले एयर फोर्सकै सहकर्मीहरुसंग पनि सल्लाह गरे, उनीहरुले पनि धेरै राम्रो अवसर भने,’ उनले भनिन्, ‘अनि म यो अध्ययनका लागि पोल्याण्ड गए ।’ अन्तरिक्षयात्री बन्नका लागि थालिएको दुई हप्ताको तालिममा उनी सहभागी भईन् । उनको यो प्रशिक्षण उनको ‘प्रयाक्टिकल्ली’ थियो । अन्तरिक्ष यात्राका लागि थालिनु पर्ने हरेक प्रकृया उनले यो अभ्यासका क्रममा गरिन् । यो प्रशिक्षण उनको शब्दमा भन्दा आईशोलेशन अर्थात यानमै राखेर गरिएको थियो । उनले एनालग अन्तरिक्षको प्रशिक्षण पूरा गरिन् । ‘हामीहरु ५ जना थियौँ, आईशालेशन (यान) मै रहेर हामीहरुले रिसर्च गर्यौँ,’ उनले भनिन् ‘मेरा लागि यो बिल्कुलै नयाँ अनि चुनौती पूर्ण अभ्यास थियो।’ त्यसोत, अमेरिकी वायु सेनाका लागि यो अन्तरिक्ष यात्रा थप कोशेढुंगा सावित हुने उनको भनाई छ । ‘म अमेरिकी वायु सेना हो, मेरो कर्म क्षेत्रका लागि पनि यो अन्तरिक्ष यात्रा थप कोशेढुंगा सावित बनेको छ,किनकी हामी वायु सेनाहरुका लागि यो थप सहज बन्छ,’ उनले भनिन्, ‘दुई हप्ता सम्म हामीहरु आईशोलेशन (यान) मै रहेर रिसर्च गर्यौँ, यो अवधि सम्म हामीहरुसंग कोही कसैको पनि भेट हुँदैन, मात्रै यानका ‘क्रु’ हरुसंग मात्रै कुराकानी हुन्छ ।’

अभ्यासका क्रममा उनले पृथ्वीमै रिसर्च गरिन्, अनि अन्तरिक्ष यात्रीका लागि योग्य बन्न सफल भईन् । ‘हामीहरुले अभ्यासका क्रममा पृथ्वीमै रिसर्च गर्यौँ, अब हाम्रो रिसर्च पछि बल्ल माथि उड्छौँ र अध्ययन गर्छौँ,’ ज्योतीले भनिन् । उनका अनुसार खाना, सुत्ने व्यवस्थापन देखि सबै व्यवस्थापन यही यानभित्रै गरिएको हुन्छ । ‘हामीहरु खाना, सुत्ने सबै त्यहि आईशोलेशन भित्रै हुन्छ,’ उनले भनिन् ‘आईशोलेशन भित्र ५ देखि ६ जना मात्रै अट्ने सानो ठाउँ हुन्छ ।’ पोल्याण्डमा अन्तरिक्ष यात्रीको कोर्ष पूरा गरेर अन्तरिक्ष यात्री बनेकी ज्योती अब नासासंगको सहकार्यमा रिसर्चका लागि उड्ने योजनामा छिन् । ‘अब मेरो उदेश्य भनेको नासासंगको सहकार्यमा अन्तरिक्ष यात्री बनेर उड्ने र नयाँ नयाँ खोज गर्ने भन्ने हो,’ उनले भनिन् ‘नेपालबाट अमेरिका फर्किएपछि अब मेरो प्रयास त्यस तर्फ हुने छ ।’ तथापी आफ्नो कर्म अमेरिकी वायु सेनाको जागिरे भने यथावत राख्ने योजना छ । ‘अमेरिकी एयर फोर्समै रहेर अन्तरिक्ष यात्रीको यात्रा साकार पार्ने छु,’ उनले भनिन् । अमेरिकी वायु सेना हुँदा पनि उनले अमेरिकाको टेक्सस आसपास कोभिडका बेला खटिएको स्मरण आफ्ना लािग निकै सन्तुष्ट पूर्ण क्षण रहेको बताईन् । ‘म कोभिडका बेला टेक्सस राज्यको आसपास लामो समय सम्म रहेर कोभिड व्यवस्थापन तथा भ्याक्सिन लगाउनका लागि खटिए,’ उनले भनिन् ‘मेरा लागि त्यो क्षण निकै चुनौती पूर्ण थियो, तर अहिले त्यो क्षेणले सन्तुष्टि मिल्छ ।’ उनले अहिले पाईलट कोर्ष पनि पढिरहेकी छिन्
। मध्यमवर्गी परिवारकी ज्योतीको यो सफलताले उनको परिवारलाई निकै हर्षित तुल्याएको छ । ज्योतीका बुवा नरबहादुर केसीले छोरीलाई नेपालमै कसरी पढाउने भन्ने चिन्तन रहेको तर अमेरिकामा यति ठूलो सफता मिल्नु आफ्ना लागि निकै हर्षको बिषय भएको बताउँछन् । उनले भने, ‘नेपालमै कसरी राम्रो कलेजमा पढाउने भन्ने चिन्ता थियो, छोरी डिभी परेर अमेरिका गईन् र आज त्यहाँ पढेर अन्तरिक्ष यात्री बन्न सफल भएकी छिन्, यो खुशीभन्दा अरु हामी परिवारका लागि अरु के हुन सक्छ ?’ (नागरिक)

