सूचना प्रवाहमा कन्जस्याई नगर्न सुर्खेतका प्रजिअ रिजालको निर्देशन

स्काई न्यूज/ असार २२, सुर्खेत ।  सुर्खेतका विभिन्न सरकारी कार्यालयहरुका सूचना अधिकारीहरुले लिखित भन्दा मौखिक रुपमा सूचना प्रदान गर्ने गरेको बताएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालयमा आयोजित सूचना अधिकारीहरुको बैठकमा उनीहरुले संचारकर्मी, सर्वसाधारणलगायत सूचना अभियन्ताहरुलाई सहजताका लागि मौखिक रुपमै सूचना प्रदान गर्ने गरेको बताएका हुन् । बैठकमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मौखिकरुपमै दिएको सूचनाको तथ्यांक राख्न निर्देशन दिँदै लिखित रुपमा माग गर्न आएमा सहज भएपनि मौखिक रुपमा दिँदा तथ्यांक राख्न सके प्रतिवेदन सजिलो हुने हुँदा कानुनमा उल्लेख भएको दिन नमिल्ने बाहेक अन्य सूचनाहरु उपलव्ध गराउन निर्देशन दिए ।

उनले सूचनाहरु सार्वजनिक गर्दा कार्यालयमा पारदर्शिता बढ्ने, सेवाग्राहीले बढी विश्वास गर्ने र सुशासन कायम गराउन सहज हुने भएकोले सूचना प्रवाहमा कन्जुस्याईं नगर्न आग्रह गरे । जिल्लाका दुई दर्जन सरकारी कार्यालयका सूचना अधिकारीहरुको सहभागिता रहेको बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले सूचनाको हक, राष्ट्रिय सूचना आयोगको काम, कर्तव्य र अधिकारको वारेमा प्रस्तुति प्रस्तुत गरे । पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले सूचना अधिकारीहरुलाई पूर्ण अधिकारसहितको सूचना प्रदान गर्न सुझाव दिए ।

उनले सूचना अधिकारी र पत्रकारहरुवीच समन्वय राम्रो हुन सके सही सूचना बाहिर आउने र त्यसको प्रभाव राम्रो हुने जनाए । बैठकमा लिखित रुपमा सूचना माग गर्न आउनेको संख्या नगण्य हुँदा धेरैजसो मौखिक रुपमै सूचना दिने गरिएको सूचना अधिकारीहरुले बताए । केही संचारकर्मीहरु खोजी समाचारका लागि लिखित रुपमा सूचना माग गर्ने गरेपनि धेरैजसोलाई मौखिकरुपमै सूचना प्रदान गर्ने गरिएको उनीहरुको भनाइ थियो ।

Translate »