सुर्खेत भित्र पर्ने राजमार्ग (सडक) सुरक्षाका लागि तयारी अवस्थामा रहन प्रजिअको निर्देशन


स्काई न्यूज/ असार २२, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले वर्षातको मौसममा हुन सक्ने बाढीपहिरो जस्ता विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि तयार अवस्थामा रहन सरोकारवालालाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतमा बुधबार वीरेन्द्रनगरमा बसेको बैठकले वर्षातको समयमा राजमार्ग (सडक) मा हुने अवरोध हटाउन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि आवश्यक उपकरण मेशनरीसहित (क्वीक रेस्पान्स टीम) तत्काल उद्दार कार्य दललाई अभिमुखिकरण दिएर तयार अवस्था रहन निर्देशन दिएको हो ।

वर्षातको मौसम जतिबेला पनि विपद् आईलाग्ने भएकाले आवश्यक स्रोत साधनसहित दक्ष जनशक्तिका साथ तयारी अवस्था राख्न प्रजिअ रिजालले सम्बन्धित कार्यालयका प्रतिनिधिलाई निर्देशन दिए । उनले जिल्ला भित्रका सडक तथा राजमार्ग क्षेत्रमा सकेसम्म घटना हुनै नदिने र कुनै कारणबस अप्रिय घटना घटी नै हाले तत्काल क्वीक रेस्पान्स टीमसहित मेडिकल टीमलयातका अन्य आवश्यक जनशक्ति तयारी अवस्थामा राख्न जोड दिए ।


बैठकमा जिल्ला भित्रका सम्भावित विपद्का उच्च जोखिमपूर्ण स्थानहरुको पहिचान, पूर्व सूचना प्रणाली, उद्दार तथा राहतलगायत आवश्यक तयारी भईरहेको सरोकारवालाले बताएका छन् । कर्णाली राजगर्मा, छिन्चु–जाजरकोट सडक, रत्न राजमार्गलगायत अन्य सहायक सडकहरुको सुरक्षा, सडक सीमा संरक्षण, मर्मत सम्भार, सडक सुरक्षा सचेतनालगायतका कार्य तत्काल सुचारु गर्ने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए ।

उनले बैठकमा स्थानीय तहको समन्वयमा ईलाका ईलाका स्तरीय (क्वीक रेस्पान्स टीम) तत्काल उद्दार कार्य दल समेत छिट्टै गठन गर्ने निर्णय भएको बताए । उनका अनुसार बैठकमा प्रजिअ रिजाल, सहायक प्रजिअ पाण्डे, प्रशासकीय अधिकृत पदमलाल लामिछाने, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, ट्राफिक प्रहरी, सडक डिभिजन कार्यालय, यातायात व्यवस्था कार्यालय, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, यातायात व्यवसायी र राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


