बलात्कार मुद्दामा बालिगको एक वर्ष र नाबालिगको हकमा २ वर्ष हदम्याद बढाउने सहमति
असार २४, काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले बलात्कार मुद्दामा हद म्याद बढाउने गरी सहमति जुटाएको छ ।
समितिको शुक्रबार बसेको बैठकले यौन हिंसा विरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा बालिगको एक वर्ष र नाबालिगको हकमा २ वर्ष हद म्याद बढाउने सहमति जुटाएको हो ।
समितिले जुटाएको सहमति अनुसार अब कुनै पनि बलात्कारमा परेका नाबालिगले १८ वर्ष पूरा भएको अर्थात् बालिग भएको ३ वर्षसम्ममा उजुरी गर्नु पर्नेछ । यस्तै बालिगको हकमा भने घटना भएको दुई वर्ष भित्र उजुरी गर्नु पर्ने व्यवस्था गरिएको छ ।
थुनामा रहेको वा अपहरणमा रहेको अवस्थामा बलात्कारमा परेको भए थुनामुक्त वा अपहरणमुक्त भएको दुई वर्ष ३ महिना भित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।
यसैगरी अपाङ्गता, ज्येष्ठ नागरिक र सुस्त मनस्थिति भएका व्यक्तिले भने घटना भएको ३ वर्ष भित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।