रसायन हालेर पकाइएको र प्राकृतिक रुपमा पाकेको आँप कसरी चिन्ने?

‘आँप खाएदेखि पेट दुखेर हैरान छ। ‘हिजो आँप खाएको घाँटी खसखसाएर हैरान छ।’

‘टाउको दुखेजस्तो भइरहेको छ आँप खाएर पो हो कि ?’

पछिल्लो समय माथिका जस्ता स्वास्थ्य समस्या धेरैले सुन्ने गरिएको छ । यतिबेला आँपको सिजन भएकाले जताततै फलफूलको राजा मानिने आँप पाइन्छ । स्वास्थ्यवर्द्धक र स्वादिलो आँपलाई पकाउने बेलामा रसायन हाल्ने कुकर्मले अमृतजस्तो फललाई विष समान बनाइरहेको छ ।

आँप, केरा, मेवा, अम्बाजस्ता फल रुखमा छिपिएपछि नपाके पनि टिपिन्छ। यसरी काँचै टिपिने फल टिपिसकेपछि प्राकृतिक रुपमा आफै वा गुम्स्याएपछि पाक्छन् जसको प्रमुख कारण तीनमा प्राकृतिक रुपमा उत्पादन हुने एथिलिन ग्यास हो । एथिलिन ग्यासले फललाई बिस्तारै पकाउँछ । फललाई छिट्टै पकाउनु पर्दा कपडा, बोरा, भुस आदिमा गुम्साइन्छ। जसले गर्दा एथिलिन ग्यास हावामा फैलिएर जान पाउँदैन र चाँडै पाक्छ । यसरी प्राकृतिक तवरले पकाउँदा अमृतसमान पोषिलो हुने आँप क्याल्सियम कार्बाइडजस्ता अखाद्य रसायन हालेर पकाएर बिष समान बनाउने चलन व्याप्त छ ।

नेपालमा कार्बाइड हालेर फलफूल पकाउन कानूनले बन्देज लगाएको छ। खाद्य नियमावली २०२७ को नियम १९ (घ) मा स्पष्ट रुपमा कार्बाइड ग्यास (इसिटिलिन ग्यास)ले कृत्रिम रूपबाट पकाइएका फलफूल बिक्री गर्न नपाइने भनिएको छ । तर कागजमै सिमित हुने हाम्रो कानूनी प्रावधानको खिल्लि उडाउँदै बजारमा रसायन हालेर पाकाएका आँप छ्यापछ्याप्ती पाइन्छ ।

कार्बाइडले स्वास्थ्यमा पर्ने असर

क्याल्सियम कार्बाइडजस्ता रसायन हालेर पकाइएको फलफूलका धेरै नकारात्मक स्वास्थ्य असर हुन्छन् । रसायन राखेर पकाइएको आँप खाँदा पेट दुख्ने, वान्ता हुने, घाँटीमा असर, टाउको दुख्नेजस्ता सामान्य समस्यादेखि फोक्सो, मुटु, मिर्गौलाको स्वाथ्यमा समेत घातक निम्तिन सक्छ।


जनावरमा गरिएको एक अनुसन्धानले कार्बाइडको सेवनले फोक्सो र मिर्गौलामा अत्यन्तै नकारात्मक असर परेको पाइएको छ । क्याल्सियम कार्बाइडले शरीरभित्रको पानीसँग प्रतिक्रिया गरी एसिटिलिन ग्यास बनाउँछ । जसले गर्दा मस्तिष्कमा अक्सिजनको मात्रामा असन्तुलन हुन जान्छ । मस्तिष्कमा अक्सिजनको मात्राको कमि हुँदा टाउको दुख्ने, आँखा धमिलो देखिने, रिँगटा लाग्ने, बोली लर्बराउने, सास फेर्न समस्या हुनेजस्ता असर देखिन्छन् ।
गर्भवती महिलाले कार्बाइड धेरै सेवन गर्दा गर्भ तुहिने र क्यान्सरसमेत हुने संभावना हुने क्यानेडियन वैज्ञानिकहरुले गरेको एक अध्ययनले देखाएको छ । कार्बाइडले शरीरमा भएको पानीसंग प्रतिक्रिया गरी एक प्रकारको क्षार बनाउदछ, जसबाट श्वासनली, घाँटी, आँखा र छालामा धेरै खालका समस्या देखा पर्छन्। धेरै मात्रामा खाँदा यसले आँखा पोल्ने, पाक्ने गराउनुका साथै अन्धो पनि बनाउन सक्छ ।
कार्बाइड हालेको आँप कसरी चिन्ने ?
कार्बाइडजस्ता रसायन हालेर पकाएको आँप सामान्य विधिहरुबाट पनि चिन्न सकिन्छ। खासगरी यसरी पकाइएको आपँमा प्राकृतिक रुपमा पाकेको आँपमा भन्दा कम रस हुन्छ। रस कम हुने भएकैले यस्तो आँप पानीमा तैरिन्छ भने प्राकृतिक रुपमा पाकेको आँप पानीमा डुब्छ । अतः एउटा भाडामा भरि पानी राखेर आँप राख्दा डुब्छ वा डुब्दैन जाँचेर रसायन हालेर पकाएको आँप छुट्याउन सकिन्छ ।

रसायन हालेर पकाएको आँप हेर्दा चम्किलो रंगमा पहेँलै भएर पाकेको देखिन्छ तर भित्र गिर्खा वा नपाकेको भागहरु हुन सक्दछ। रसायन हालेर पकाएको आँपमा प्राकृतिक रुपमा पाकेको आँपमा आउने जस्तो मगमग बासना कम आउँछ।
रसायन हालेर पकाएको आँप सबैतिर चिल्लो पहेँलो भएर पाकेको हुन्छ भने प्राकृतिक रुपमा पाक्दा सबैतिर एकनासको पहेँलो हुदैन।

कार्बाइड बल्ने प्रकृतिको हुने हुँदा उक्त रसायन हालेर पकाएको आँपको नजिक आगोको झिल्का पर्‍यो भने बल्न वा झिल्का टिप्न सक्छ। रसायन हालेर पकाइएको आँप प्राकृतिक रुपमा पाकेकोको तुलनामा कम गुलियो र कम स्वादिष्ट हुन्छ। सकेसम्म प्राकृतिक रुपमा पाकेका फलफूल मात्र खाने गर्नु पर्दछ। बाध्यतावश खानैपर्ने भए पनि केही समय पानीमा डुबाएर बोक्रा ताछेर मात्र खानुपर्छ। आँपको भेट्नोतर्फ अलिकति काटेर आधा घण्टासम्म पानीमा डुबाइ पखालेर बोक्रा तासि खाँदा केही हदसम्म असरबाट बच्न सकिन्छ ।

प्राकृतिक रुपमा पकाइएको आँप खाँदाका फाइदाहरु

पाकेको आँपमा चीनिजन्य पदार्थ, विभिन्न भिटामिन र खनिज तत्वहरु प्रशस्त मात्रामा पाइन्छ। आँप भिटामिन सी, भिटामिन ए, भिटामिन इ, फोलेट, भिटामिन बि ६ का साथै कपर, म्याग्नेसियमजस्ता खनिजको राम्रो स्रोत हो। शरीरका कोष स्वस्थ राख्न चाहिने भिटामिन पाइने भएकाले आँपले छालाको चाउरीपन रोक्न मद्दत गर्दछ। शरीरको रोग प्रतिरक्षा क्षमता बढाउने भिटामिनहरु पाइने भएकाले आपँलाई इम्युनो बुस्टिङ (रोगसँग लड्ने क्षमता बढाउने) फल पनि भन्ने गरिन्छ।

आँपको नियमित उपभोगले हृदय सम्बन्धी रोग, छिट्टै बुढ्यौली देखिने समस्या, क्यान्सरजस्ता स्वास्थ्य समस्या कम गर्न सहयोग पुग्छ । आँपमा घुलनशील फाइबर पाइन्छ जसले रगतमा कोलेस्ट्रोलको मात्रा कम गर्ने र ग्रन्थीमा हुने क्यान्सरबाट समेत बचाउँछ । अपच तथा अम्लीयपना जस्ता समस्या हटाउन पनि आँपको सेवन लाभदायक हुन्छ । गर्भवती र रक्तअल्पता भएका बिरामीहरुले आँप खानु फाइदाजनक हुन्छ ।

टेक्सास एग्रिलाइफ रिसर्च सेन्टरका खाद्य वैज्ञानिकहरुले आफ्नो अनुसन्धानमा आँपलाई अन्य फलहरुको दाँजोमा स्तन क्यान्सरबाट बचाउ गर्नमा बढी फाइदाकारी मानेका छन् । क्याटाचिन, ग्यालिक एसिड, एन्थोसायनिनजस्ता रसायन पाइने भएकाले आँप एन्टीअक्सिडेन्टको पनि राम्रो श्रोत हो जसले शरीरमा कोषको क्षयीकरण रोक्छ र शारीरिक तन्दुरुस्ती बढाउँछ । आपँमा पाइने म्याग्निफेरिन नामक तत्वले मुटुको स्वास्थ्यलाई राम्रो गर्दछ। आँप पाचन प्रणाली र आँखाको स्वास्थ्यका लागि पनि लाभकर मानिन्छ । आपँमा प्राकृतिक रुपमै चीनिजन्य पदार्थ पाइने हुँदा मधुमेहका रोगीहरुले र तौल घटाउन चाहनेहरुले भने मात्रा मिलाएर मात्र खानु पर्दछ । (स्वास्थ्य खबर)

 

Translate »