सुर्खेतसहित देशैभर बकर इद मनाइयो
असार २६, सुर्खेत । आज मुस्लिम समुदायहरूको बकर इद धुमधामका साथ मनाएका छन् । बकर इदको दिन सुर्खेतका विभिन्न मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा इस्लाम धर्मावलम्बीको निकै नै चहलपहल बढेको छ । रमजान पर्वको ७० औं दिनमा मनाइने मुस्लिम समुदायको दोस्रो महान पर्व बकर इदमा बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गइ सामूहिक नमाज पढ्छन् ।
नमाज पढिसकेपछि एक आपसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गर्ने गर्छन् । यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् । बकर ईद (ईद उल अजहा) को अवसरमा आज सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ ।
यसैवीच कर्णाली प्रदेश प्रमुख तिलक परियारले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख परियारले मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको इद उल अज्हा (बकर इद) संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएकाले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउन आग्रह गरेका हुन् ।
प्रदेश प्रमुखको सन्देशमा भनिएको छ, ‘यस्ता चाडपर्वहरूको माध्यमबाट फरक भूगोल‚ संस्कृति र भाषाभाषीका समुदायबीच आपसी एकता, सद्भाव, सहिष्णुताको भावना अभिवृद्धि भई नेपालीको वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु । उता वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले समेत इद उल अज्हा (बकर इद) को अवसरमा सबैलाई शुभकामना व्यक्त गरेकी छिन् ।