संघीय निजामती सेवा ऐन जारी गर्न माग


स्काई न्यूज/ असार २७, सुर्खेत । सरकारी सेवामा कार्यरत कर्णालीका निजामति कर्मचारीहरुले संघीय निजामती सेवा ऐन जारी गर्न सरकारसँग माग गरेका छन् । कर्णालीमा रहेका निजामती कर्मचारी आबद्ध विभिन्न संघ संगठनहरुले सोमबार कर्णाली प्रदेशका प्रमुख सचिव राजकुमार श्रेष्ठ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै संसदको चालु अधिवेशनबाट ऐन जारी गर्न माग गरेका हुन् ।
प्रदेश स्थित नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले पठाएको ज्ञापन पत्रमा ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्यौल र अस्थिरताको भूमरीमा फसेको उल्लेख गरिएको छ।
मुलुक संघीय व्यवस्थामा गएको लामो समयसम्म पनि संघीय शासन प्रणालीको कार्यान्वयनको लागि तीनै तहको कर्मचारी प्रशासन व्यवस्थापन एंव मार्ग दर्शन गर्ने छाता कानुनको रुपमा रहेको संघीय निजामती सेवा ऐन जारी नहुनु गम्भीर चिन्ताको विषय भएको ज्ञापन पत्रमा उल्लेख छ ।


राष्ट्रियस्तरका ट्रेड युनियनबाट दिइएका सुझाव र अन्य सरोकारवालाहरुको सहभागितामा ऐन निर्माणको प्रक्रियामा अघि बढाई चालु संसद अधिवेशनबाट ऐन जारी गर्न उनीहरुले माग गरेका छन् । ऐन जारी नभए कडा संघर्षमा उत्रनेसमेत उनीहरुले ज्ञापन पत्रमार्फत् सरकारलाई चेतावनी दिएका छन् ।
यस्तै जिल्ला स्थित कर्मचारी संघ संगठनहरुले संघीय निजामती सेवा ऐन जारी गर्न मागगर्दै प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । प्रजिअ रिजालले सुर्खेतका निजामती कर्मचारी संघ संगठनहरुले दिएको ज्ञापनपत्र प्रधानमन्त्री समक्ष पठाई दिने प्रतिवद्धता व्यक्त गरेको नेपाल निजामति कर्मचारी यूनियनका कर्णाली प्रदेश सचिव काशीराम भट्टराईले जानकारी दिए ।


