कर्णाली प्रदेशसभाको बैठक सुचारु गर्न सर्वदलीय बैठक आव्हान

असार ४, सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक सुचारु गर्न सभामुख राजबहादुर शाहीले सर्वदलीय बैठक आव्हान गरेका छन् । सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले मङ्गलबार प्रदेशसभा बहिष्कार गरे पश्चात स्थगित भएको बैठक सुचारु गर्न उनले बैठक बोलाएका हुन् । सर्वदलीय बैठक आज दिउँसो ३ बजे बोलाइएको सभामुख शाहीले जानकारी दिए।

मंलबार प्रदेशसभाको दशौँ अधिवेशनको २६औँ बैठकको सुरुमै नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य गोपाल शर्माले सत्ता गठबन्धनको प्रमुख दल माओवादी केन्द्रको जिम्मेवारी र आवश्यकतालाई सदन र सरकारमा पूर्णतया बेवास्ता गरिएको असन्तुष्टि व्यक्त गरेका थिए ।
उनले पर्याप्त बजेट विनियोजन गरी कार्यविधि बनाएर नयाँ व्यवस्था वा प्रदेश प्राप्तिको आन्दोलनमा जीवन बलिदान गर्ने शहीद परिवारका लागि शहीद स्मृति र घाइते अपांगता भएका व्यक्तिको जीवन निर्वाह भत्ताको व्यवस्था गरिए पनि त्यसको कार्यान्वयन नगरी बजेट फ्रिज फालिएको उनको भनाइ थियो । अर्थ तथा प्राकृतिक स्रोत समिति नेतृत्वविहीन बनाइएको सवाल पनि सदस्य शर्माले उठाएका थिए ।

संसदीय समितिको बैठकमा कार्यसूची निर्माण, निर्णय प्रक्रिया नियम विपरीत भएको जनाउँदै उनले कतिपय निर्णय प्रक्रियामा असम्बन्धित क्षेत्रबाट हस्तक्षेप भएका कारण शान्ति तथा पुनः स्थापना, पर्वतीय विश्वविद्यालय दलित सशक्तीकरण, सिजा सभ्यता, आमसञ्चार प्रतिष्ठान जस्ता महत्त्वपूर्ण विधेयक कार्यसूचीमै प्रवेश गर्न नसकेको औँल्याएका थिए ।

ती सवाल एवं विषयहरूमा उपयुक्त छलफल तथा निष्कर्ष नआउन्जेलसम्म सदनमा उपस्थित नहुने धारणा व्यक्त गरेर सदन बहिष्कार गरेको माओवादीलाई सहमतिमा ल्याएर सदन सुचारु गर्न आज सर्वदलीय बैठक बोलाइएको सभामुख शाहीले बताए ।

Translate »