नेपाली रड पहिलो पटक भारत निर्यात

साउन ४, काठमाडौं । नेपाली रड पहिलो पटक भारत निर्यात भएको छ । बजेटमा निर्यातमा छूटको घोषणा भएसँगै रूपन्देहीको सेमरहवामा सञ्चालित श्री स्टिलले बुधवारदेखि रड निर्यात गर्न लागेको हो ।

उक्त उद्योगले पहिलो चरणमा आज दुई ट्रक रड भारत निर्यात गर्न लागेको जनाएको छ । उद्योग सञ्चालक राजेश अग्रवालले आजदेखि औपचारिक रूपमा रड भारत निर्यात गर्न लागिएको जानकारी दिए । सरकारले निर्यातमा सहजीकरणको घोषणा गरेसँगै रड निर्यात शुरु गरिएको उनले बताए । पहिलो चरणमा परीक्षणस्वरूप ५० टन रड निर्यात गर्न लागिएको छ ।

वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटमा उच्च निर्यात सम्भावना भएको वस्तुमा निर्यात छूट दिने प्रावधान ल्याएको छ ।तत्कालीन अर्थमन्त्री जनादन शर्माले उच्च निर्यात सम्भावना भएको क्लिंकर, सिमेन्ट, स्टिल, फुटवेयर र प्रशोधित पानी तथा सूचना प्रविधिमा आधारित क्षेत्र पहिचान गरी निर्यात प्रवर्द्धन गर्ने व्यवस्था बजेटमा गरेका थिए । त्यस्ता वस्तुमा आठ प्रतिशतसम्म नगद अनुदान दिइने बजेटमा उल्लेख छ ।

सोही प्रावधानका कारण नेपाली उद्योगीले रड र सिमेन्ट निर्यात गर्न थालेका हुन् । यसबाट व्यापार घाटा घटाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

उद्योग सञ्चालक अग्रवालले भारत सरकारबाट गुणस्तर प्रमाणीकरण अनुमति पाएसँगै परीक्षणका लागि रड निर्यात गरिएको बताए ।

पाल्पा सिमेन्ट इन्डस्ट्री प्रालिले भने यसअघि नै ‘तानसेन’ सिमेन्ट भारत निकासी शुरु गरिसकेको छ । सोसँगै अर्घाखाँची, जगदम्बा, सर्वोत्तम र सौर्य सिमेन्ट भारत निर्यातका लागि तयारी थालिएको छ । ती उद्योगहरूले भारत सरकारबाट गुणस्तर प्रमाणीकरणको अनुमतिको पर्खाइमा रहेको जनाएका छन् ।

भारत सरकारले गुणस्तर प्रमाणीकरणको अनुमति दिन १५ महीनाभन्दा बढी समय लगाएको भन्दै व्यावसायीले दुई देशका सरकारबीच समन्वय गरेर सहजरूपमा अनुमति दिनुपर्ने माग राखेका छन् । रासस

Translate »