वीरेन्द्रनगरमा निःशुल्क आँखा शिविर सम्पन्न

स्काई न्यूज/ साउन ६, सुर्खेत । नेपाल रेडक्रस सोसाईटी उपशाखा नेवारेले सुर्खेतको वीरेन्द्रनगरमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । रेडक्रसले आँखा अस्पताल सुर्खेत र नेपाल फार्मेसी संघ कर्णाली प्रदेशको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरेको शिविरबाट ३ सय ७४ जना नागरिकले निःशुल्क आँखाको चेकजाँचसँगै औषधि पाएका छन् ।
शिविरमा चेकजाँच गरिएका ३ सय ७४ जना मध्ये ३३ जनामा मोतियाबिन्दु फेला परेको शिविरका संयोजक तुलसीप्रसाद आचार्यले जानकारी दिए । उनले शिविरमा मोतियाविन्दु फेला परेका ३३ जनाको निःशुल्क मोतियाविन्दु शल्यक्रिया (अप्रेशन) का लागि आँखा अस्पताल रिफर गरिएको बताए । उनका अनुसार आँखा अस्पताल रिफर गरिएका विरामीको यहीं साउन ८ गते शल्यक्रियाका लागि आवश्यक तयारी शुरु हुनेछ ।

मानवताको हितका लागि सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा प्रत्यक्ष भौतिक सहयोग गर्ने वीरेन्द्रनगर–१२, नम्वर वडा कार्यालय, आधारभूत स्वास्थ्य केन्द्र र ग्रामीण जागरण वचत तथा ऋण सहकारी संस्थालाई समेत रेडक्रसले धन्यवाद व्यक्त गरेको छ ।