सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गरिने


साउन ८, काठमाडौं । सरकारले सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ । आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।
पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्दा ‘रिकोभरी प्लान’ ल्याउने निर्णय अनुसार मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गरिएको हो ।
कार्ययोजना प्रस्तुत गर्दै मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले तीन महिनाभित्र नेपाल भ्रमण दशक घोषणा गरिसक्ने गरी तयारी गरिरहेको बताए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयले घोषणा गरेको ७३ बुँदे कार्ययोजनाले कोरोना महामारीले परेको असरलाई पुनरुत्थान गरी पर्यटन व्यवसाय प्रवर्द्धन हुने दाबी गरे ।
मन्त्रालयले कोरोना महामारीबाट शिथिल बनेको पर्यटन क्षेत्र पुनरुत्थानको लागि गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’समेत चलाउने घोषणा पनि गरेको छ । उनले सरकारले नेपाललाई विश्वको एक पर्यटन आगमनको केन्द्र बनाउने गरी काम गर्ने तयारी गरेको बताए ।
यस्तै, सरकारले प्रयोगमा नआउने विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याउने घोषणासमेत गरेको छ । काठमाडौं उपत्यकाभित्र रात्रिकालीन पर्यटनको प्रारम्भ र प्रवद्र्धन गर्न काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्रा सञ्चालन गर्नेसमेत सरकारले घोषणा गरेको छ । उक्त सम्पदा यात्रा दुई वर्षभित्र सञ्चालन गर्ने तयारी रहेको सरकारले बताएको छ । (आर्थिक अभियान)

