टिकटक बनाउने क्रममा कुपिण्डे तालमा बेपता युवक मृत भेटिए

साउन ११, सल्यान । सल्यानमा टिकटक बनाउने क्रममा कुपिण्डे तालमा मंगलबार बेपता भएका युवक मृत भेटिएका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका –८, मा रहेको कुपिण्डे तालमा डुबेर बेपत्ता भएका कपुरकोट गाउँपालिका ६ सिनबाङ घर भएका हाल तुलसीपुर उपमहानगरपालिका–६, बस्ने बेदबहादुर बस्नेत झन्डै २४ घन्टापछि मृत अवस्थामा फेला परेका हुन् ।

सुर्खेतबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले तालभित्र बेपत्ता भएको स्थानदेखि करिब १५ मिटर पर र करिब ५० मिटर गहिराइमा खोचमा जेलिएको अवस्थामा उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । प्रनाउ खड्काका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा चिनजान भएका धादिङको खानीगाउँ गाउँपालिका ३ का ३२ वर्षीय मुलबहादुर तामाङलाई लिएर बस्नेत मंगलबार कुपिण्डे ताल घुम्न आएका थिए ।

बस्नेत बेपत्ता भएको केही समयपछि मंगलबार साँझदेखि नै गोताखोर र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीको टोलीले खोजी गरिरहेको थियो । मृत अवस्थामा भेटिएका बस्नेतको मुचुल्का उठाएर पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा ल्याउन थालिएको प्रहरीले जनाएको छ । चारैतिर खुला भएको र उद्दार टोलीसमेत नराखिएको कुपिण्डे तालमा बिगतमा पनि पौडी खेल्ने क्रममा डुबेर केहीको मृत्यु भएको छ।

Translate »