बाबुराम भट्टराईको पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’

साउन १२, काठमाडौं । जनता समाजवादी पार्टीबाट अलग भएका बाबुराम भट्टराई समूहको पार्टीको नाम नेपाल समाजवादी पार्टी हुने भएको छ । निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम भट्टराई समूहको आग्रहमा नेपाल समाजवादी पार्टी बनाइएको हो । भट्टराई निकट नेता विश्वदीप पाण्डेले यसको पुष्टि गर्दै पार्टीको चुनाव चिन्ह आँखा हुने बताएका छन् । भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको चुनाव चिन्ह पनि आँखा थियो ।

नेता पाण्डेले नयाँ पार्टीको विधान तयार भइसकेको र केन्द्रीय समितिको बैठक बसेर नेतृत्वबारे टुंगो लगाउने बताए । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष भट्टराईबीच पार्टीमा द्वन्द्व बढेपछि केही समयअघि छुट्टा छुट्टै भेला डाकिएको थियो । भट्टराई समूहको भेला काठमाडौं सम्पन्न भएको थियो भने यदावले वीगरन्जमा भेला गरेका थिए। वीरगन्ज भेलाबाट भट्टराईसहित उनी निकट नेताहरुलाई कारबाही गरिएको थियो । अन्नपूर्ण पोष्ट

Translate »