नैतिकता हराएको राजनीति

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका दुई मन्त्रीले आरोप लाग्नेबित्तिकै पदबाट राजीनामा दिएका थिए । ओली नेतृत्वको सरकारका मन्त्री शेरबहादुर तामाङ र गोकुल बास्कोटाले आरोप लाग्नेबित्तिकै पदबाट राजीनामा दिएर सहजीकरण मात्रै गरेनन्, उनीहरू पुनः मन्त्री पनि बनेनन् । तर माओवादी केन्द्रका जनार्दन शर्मालाई भने सघन आरोप लागे पनि छानबिन समिति बनाएर चोख्याउँदै पुनः अर्थमन्त्री बनाइयो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई अर्थमन्त्रीमा पुनः दोहो र्‍याएर थप उन्मुक्ति दिएका छन् । संसदीय छानबिन समितिमा सदस्य रहेका एमालेका चार सांसदले शर्मालाई चोख्याइएको प्रतिवेदनमा नौ पृष्ठको फरक मत राखेर असहमति जनाएका थिए । प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले शर्मालाई पुनः अर्थमन्त्री बनाएर एमालेलाई पनि चुनौती दिएका छन् ।

नैतिकताका आधारमा शर्मा आफैले पनि सो पद अस्वीकार गर्न सक्थे । तर उनले त्यसो नगरी आइतबार साँझ मन्त्री पदको पुनः शपथ लिए ।

उनले अघिल्लो ओली सरकारका मन्त्रीहरूले देखाएको नैतिकतालाई पनि ख्याल नगरी शपथ लिए । ओली नेतृत्वको सरकारका तत्कालीन कानुनमन्त्री तामाङले २०७५ सालमा बंगलादेशमा पढ्ने नेपाली छात्राको विषयमा गरेको टिप्पणीको विरोध भएपछि पदबाट राजीनामा दिएका थिए । बंगलादेशमा एमबिबिएस पढ्न जाने नेपाली छात्राले प्रमाणपत्र पाउन आफूलाई सुम्पनुपर्ने अभिव्यक्ति दिएपछि तत्कालीन मन्त्री तामाङ विवादमा परेका थिए । ‘मलाई पदभन्दा प्रतिष्ठा प्यारो छ, त्यसैले राजीनामा गर्दैछु,’ तामाङले राजीनामा दिँदै गर्दा भनेका थिए ।

२०७६ सालमा तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले स्विस कम्पनीका नेपाली एजेन्ट विजय मिश्रसँग कमिसनका लागि बार्गेनिङ गरेको अडियो

बाहिरिएको थियो । यस्तो आरोप लागेपछि उनले पदबाट राजीनामा दिएर पुष्टि गर्न चुनौती दिएका थिए । बास्कोटाले अहिले पनि आफूमाथि लागेको आरोप प्रमाणित गर्न सरकारलाई चुनौती दिएका छन् । उनी तत्कालीन प्रधानमन्त्री ओलीको विश्वासपात्र थिए । तर ओलीले उनलाई मन्त्रीमा बसिरहन आग्रह गरेनन् ।

२०७६ सालमा संसद् सचिवालयकी एक महिला कर्मचारीले कृष्णबहादुर महराविरुद्ध यौन दुव्र्यवहारको आरोप लगाएपछि उनले सभामुख पदबाट राजीनामा दिएका थिए । महराले पछि अदालतबाट सफाइ पाए पनि सामाजिक सञ्जालमा उनको आलोचना बन्द भएको छैन । माओवादीले महरालाई चोख्याउन सकेन । तर शर्मालाई चोख्याउन र जोगाउन भने माओवादी अध्यक्ष दाहाल स्वयं लागेको आरोप छ ।

त्यस्तै २०७४ सालमा तत्कालीन उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापासँग विवाद भएपछि सहरी विकासमन्त्री दिलानाथ गिरीले पदबाट राजीनामा गरेका थिए । २०७२ सालमा धानदिवसको अवसरमा काठमाडौंको मूलपानीमा तत्कालीन कृषिमन्त्री हरि पराजुलीले एक महिलालाई दुव्र्यवहार गरेको आरोप लाग्यो । आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका थिए । २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा शरतसिंह भण्डारी रक्षामन्त्री थिए । तराईका २२ जिल्लालाई केन्द्रबाट छुट्टिन कुनै कानुनले रोक्न नसक्ने बताएपछि उनी विवादमा परे । सोही कारण उनले पनि मन्त्रीपदबाट राजीनामा दिएका थिए । विगतमा यस्ता तथ्य हुँदाहुँदै पनि शर्माले भने मंगलबार २५ दिनपछि पुनः अर्थमन्त्रीको कार्यभार सम्हालेका छन् । उनीमाथि बजेट सार्वजनिक नहुँदै सूचना चुहाएको, अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गर्न लगाएको आरोप लागेको थियो । उनीमाथि लागेको आरोप छानबिन समितिले निराधार भने पनि सर्वसाधारण विश्वस्त हुन सकेका छैनन् । नागरिक न्यूज

Translate »