कर्णाली प्रदेशसभा : ‘प्रदेश खेलकुद विकास ऐन–२०७६’ संशोधन प्रस्ताव


साउन १७, सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘प्रदेश खेलकुद विकास ऐन–२०७६ लाई पहिलो संशोधन गर्न विधेयक अघि बढाएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले प्रदेशसभाको सोमबारको बैठकमा विधेयक सैद्धान्तिक छलफलका लागि सभासमक्ष प्रस्तुत गरे।
छलफलमा प्रदेशसभा सदस्य दल रावलले भाग लिँदै खेलकुद क्षेत्र नागरिकको स्वास्थ्य, अनुशासन र मनोरञ्जनसंग जोडिएको विषय भएकाले यसको बृहत्तर विकास जरुरी रहेको धारणा व्यक्त गरे । उनले विस्तृतमा विधेयक अध्ययन गरेपछि संशोधन दर्ता गर्ने बताए । सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख राजबहादुर शाहीले उक्त विधेयकमाथि संशोधन दर्ता गर्न ७२ घण्टाको समयसीमा प्रारम्भ भएको सूचना दिए ।

यस अघि ऐनमा भएका प्रावधान अन्तर्गत जिल्ला खेलकुद विकास समितिको सट्टा ‘जिल्ला खेलकुद विकास परिषद्’, प्रदेश खेलकुद विकास परिषद्को सट्टा ‘कर्णाली प्रदेश खेलकुद विकास परिषद्’ नामकरण गर्न प्रस्ताव गरिएको छ । ऐनमा प्रदेश खेलकुद विकास परिषदको सदस्य–सचिवको पारिश्रमिकसम्बन्धी व्यवस्था उल्लेख थिएन । प्रदेश सरकारले पहिलो संशोधन गर्नका लागि पेश गरेको विधेयकमा सदस्य–सचिवलाई राजपत्रांकित प्रथम श्रेणी ११ औं तह (सहसचिवस्तर) को पारिश्रमिक पाउने व्यवस्था प्रस्ताव गरेको छ । ऐनमा पारिश्रमिकको व्यवस्था छुटेपछि प्रदेश सरकारले खेलकुद परिषद्का सदस्य सचिवलाई अध्यादेशमार्फत पारिश्रमिक उपलब्ध गराउँदै आएको थियो । छलफलमा भाग सदस्य रावलले प्रदेश सरकारको सचिव र संघीय खेलकुद परिषद्को सदस्य सचिव ११ औं तहको हुने भएकाले प्रदेशको सदस्य–सचिव १० औं तहको पारिश्रमिक दिँदा उपर्युक्त हुने बताए ।
प्रदेशसभा बैठकमा मुख्यमन्त्री जीवनबहादुर शाहीले महालेखापरीक्षकको चौथो वार्षिक प्रतिवेदन–२०७९ सभासमक्ष पेश गरे । त्यस्तै, कर्णाली प्रदेशसभा सचिवालयसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि प्रदेश मामिला तथा विधायन समितिले तयार गरेको प्रतिवेदन सभासमक्ष प्रस्तुत गरिएको थियो ।

