पूर्वी सुर्खेतमा मजबुत बन्दै एमाले

विगतभन्दा झनै जनाधार बलियो भएको स्थानीय कमिटीको रिपोर्ट

स्काई न्यूज साउन २६, सुुर्खेत । नेकपा (एमाले) प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं. १ सुर्खेतको प्रथम बैठकले पार्टीको जनाधार थप बलियो बन्दै गएको निष्कर्ष निकालेको छ । बुधवार भेरीगंगा नगरपालिकाको छिन्चुमा भएको समन्वय कमिटी बैठकमा क्षेत्र नं. १ अन्तर्गतका पालिकाहरूमा भएका पार्टी गतिविधि र आन्तरिक शक्तिको आकलनसहितका प्रतिवेदन प्रस्तुत गरिएका थिए ।

गाउँ तथा नगर कमिटीका अध्यक्षहरूले पेस गरेको लिखित प्रतिवेदनमा सत्तारुढ गठबन्धनसँग एक्लै भिड्दा पनि एमालेले जित निकाल्न सक्ने बलिया आधारहरु रहेको औल्याइएको हो । पूर्वी सुर्खेतमा २०७४ को स्थानीय तह निर्वाचनभन्दा यसपटक थप वडा र पालिकामा नेतृत्व लिन सफल भएको, नेपाली कांग्रेसभित्रको बेमेल र गुटबन्दी झनै झांगिएको, नेकपा (माओवादी केन्द्र) को प्रभाव न्यून र नेकपा (एकीकृत समाजवादी) को संख्या नगन्य रहेकाले आगामी निर्वाचन जित्न सकिने दाबी गरिएको छ ।

यीनै आधारबाट पनि आगामी मंसिर ४ मा एकै चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा विजयी हासिल गर्न सम्भव देखिएको बैठकमा पेस गरिएका प्रतिवेदनहरुमा उल्लेख छ । सुर्खेतको प्रतिनिधिसभा क्षेत्र नं. १ मा भेरीगंंगा, लेकवेशी र गुर्भाकोट नगरपालिका तथा चिङ्गाड र सिम्ता गाउँपालिकासहित वीरेन्द्रनगरका वडा नं. १५ र १६ पर्छन् । यी पाँच पालिकामध्ये वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा तीन स्थानीय तह भेरीगंगा, सिम्ता र चिङ्गाडमा एमाले जितेको छ भने लेकवेशीमा उपप्रमुखसहित १० मध्ये दुई वडामा विजयी भएको छ । सिम्ता र गुर्भाकोटमा अघिल्लो पटकभन्दा थप वडामा विजयी हासिल गरिएको र लेकवेशीमा जनधार बलियो हुँदाहुँदै निर्वाचन परिचालनमा आन्तरिक कमजोरीका कारण नेतृत्व लिन नसकिएको जनाइएको छ ।

एमाले लेकवेशी नगर कमिटीका अध्यक्ष देव रानाले त्यहाँ अहिले पनि जनाधार बलियो रहेको बताए । उनी भन्छन्, ‘संगठन दह्रो भएर पनि हामीले यसपटक चुनावमा हार ब्यर्होनु प¥र्यो, हारको मुख्यकारण आन्तरिक नै हो ।’ उनले लेकवेशीमा एमालेको विगतको विरासत नजोगिनुमा गठबन्धन आंशिक कारण मात्रै भएको बताए । यो पालिकामा अघिल्लो स्थानीय तह निर्वाचनमा बहुमत वडासहित एमालेले प्रमुख र उपप्रमुख जितेको थियो ।

त्यस्तै, गुर्भाकोटमा नगरको नेतृत्व लिन सफल नभएपनि विगतमा कांग्रेससँग देखिएको मतान्तर घटाइएको र २०७४ को निर्वाचनमा भन्दा यसपालि थप एउटा वडामा जितेको नगर कमिटी अध्यक्ष देवबहादुर खत्री बताउँछन् । पार्टी कमिटीहरुको क्रियाशीलता बढाउन सके आगामी निर्वाचनमा नगरमा एमाले पहिलो पार्टी बन्ने सम्भावना बढ्दै गएको उनको भनाइ छ । गएको स्थानीय तहको मत परिणाम र एमालेप्रतिको बढ्दो जनलहरले आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा आफ्नो पक्षमा पर्नेमा विश्वस्त रहेको स्थानीय नेताहहरुले दाबी गरेका छन् ।


प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा अघिल्लो निर्वाचनमा कांग्रेस ‘निल’ भएको थियो । सबै निर्वाचन क्षेत्रमा एमाले र माओवादी केन्द्रको गठबन्धन विजयी भएको थियो । क्षेत्र नं. १ मा प्रतिनिधिसभामा एमालेबाट धुव्रकुमार शाही तथा प्रदेशमा एमालेकै खड्ग खत्री र माओवादी केन्द्रका ठम्मर बिष्ट विजयी भएका थिए । बिष्ट हाल एमालेमै छन् ।

त्यस्तै, क्षेत्र नं. २ मा प्रतिनिधिसभामा एमालेका नवराज रावत र प्रदेशमा यामलाल कँडेल विजयी भएका थिए भने प्रदेशमै माओवादी केन्द्रका बिन्दमान बिष्टले जितेका थिए । पालिकाहरुको पछिल्लो रिपोर्ट हेर्दा क्षेत्र नं. १ र २ मा गठबन्धनसँग एक्लै भिड्दा पनि जित निकाल्न सकिने निष्कर्षमा पुगेको एमाले सुर्खेतका प्रचार तथा प्रकाशन विभाग प्रमुख गंगाराम तिमिल्सेनाले बताए । उनका अनुसार केही दिन पहिले निर्वाचन क्षेत्र नं. २ को पनि समन्वय कमिटी बैठक सम्पन्न भएको छ । त्यहाँ पनि सम्बन्धित पालिका कमिटीहरुले पार्टीको वर्तमान अवस्थाबारेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सत्तारुढ गठबन्धनसँग एक्लै भिड्ने सामथ्र्य छ :  नेता कँडेल
निर्वाचन क्षेत्र नं. १ को समन्वय कमिटी बैठकमा पार्टी स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज कमरेड यामलाल कँडेलले सत्ता गठबन्धन एक हुँदा पनि एमालेले सुर्खेतका सबै क्षेत्रमा जित हासिल गर्ने दाबी गरे । ‘केही कठिन पक्कै होला तर, म असम्भव भने देख्दिन,’ उनले अगुवा नेताहरुलाई निर्देशन दिँदै भने, ‘तपाईंहरु आफ्नो ठाउँबाट सक्रियताका साथ लाग्नुस्, सत्तारुढ गठबन्धनसँग एक्लै जुध्नसक्ने सामथ्र्य एमालेको छ ।’

अहिले गठबन्धन सरकारले जनताको हितमा काम नगरेकाले पनि एमालेप्रति जनताको आशा र भरोसा बढ्दै गएको उनले बताए । निर्देशनात्मक सम्बोधनमा नेता कँडेलले एमालेका कमिटीहरू व्यवस्थित, सक्रिय र प्रभावकारी बन्नुपर्ने खाँचो रहेको औल्याए । पार्टी कामलाई गति दिन कार्यशैलीगत कमजोरी सुधार गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो । आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा जुट्न केन्द्र, प्रदेश र स्थानीय कमिटीका नेताहरूलाई उनले निर्देशन दिए ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ समन्वय कमिटीका संयोजक एवम् पार्टी जिल्ला सचिव कबिन्द्रकुमार केसीको अध्यक्षतामा भएको बैठकले कमिटीहरू क्रियाशील बनाउने, सदस्यता नवीकरण र आउँदो चुनावका लागि कार्ययोजना बनाएर कार्यान्वयन गर्नेलगायतका विभिन्न निर्णय गरेको छ । समन्वय बैठकमा एमाले केन्द्रिय सल्लाहकार परिषद् सदस्य, प्रदेश कमिटीका सदस्य, जिल्लाका पदाधिकारी तथा स्थानीय कमिटीका नेताहरुको उपस्थिति रहेको थियो ।

Translate »