भारत र अमेरिकाले चिनियाँ सीमा क्षेत्रमा सैन्य अभ्यास गर्दै

अमेरिकी तल्लो संसद्की सभामुख नान्सी पेलोसीको हालै भएको ताइवान भ्रमणलाई लिएर अमेरिका र चीनबीचमा तनाव भइरहेका बेला अमेरिकी र भारतीय सेनाले चीनको सीमा क्षेत्र नजिकै संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । दुई देशका सेनाबीच आगामी अक्टोबर १८ देखि ३१ सम्म भारतको उत्तराखण्डको चिनियाँ सीमानजिकै संयुक्त सैन्य अभ्यास हुन लागेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

१० हजार फिटको उचाइमा हुने संयुक्त सैन्य अभ्यास चिसो मौसम र उचाइलाई लक्षित गर्दै सञ्चालन गर्न लागिएको हो । संयुक्त सैन्य अभ्यास हुन लागेको उत्तराखण्डको औली भारत चीनको विवादित सीमा एलएसीबाट ९५ किलो मिटर टाढा रहेको जनाइएको छ । उक्त सैन्य अभ्यास दुई देश बीचको अठारौं युद्ध अभ्यास संस्करण हो ।

भारतले यसअघि सन् २०१४, २०१६ र २०१८ मा पनि उत्तराखण्डमा अमेरिकासँग संयुक्त सैन्य अभ्यास गरिसकेको छ । भारत र चीनबीच सन २०२० मा सीमाक्षेत्रमा विवाद हुँदा दुवै मुलुकका सैनिकले ज्यान गुमाएका थिए। त्यसयता भारत र चीनबीचमा सीमा विवाद समाधानका लागि पटकपटक सैन्य तथा कूटनीतिक अधिकारीबीचमा वार्ता भए पनि सम्बन्ध सुधार हुन सकिरहेको छैन । एजेन्सी

Translate »