कर्णाली प्रदेशका नवनियुक्त मन्त्री शाहीद्वारा पद तथा गोपनीयताको शपथ

प्रदेश सरकारबाटै कानूनी राज्यको उपहास

साउन २९, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार वीरेन्द्रनगरमा एक औपचारिक कार्यक्रमको आयोजना गरि कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले शाहीलाई शपथ गराएका हुन् । शाही डोल्पा प्रदेश निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित सांसद हुन् । शाहीलाई गत बिहीबार मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्री नियुक्त गरेका थिए ।

यसअघि विसं २०७८ माघ २३ गते उद्योग मन्त्री बनेका हुम्लाका गैर सांसद छिरिङ डम्डुल लामा (कार्चेन) को पदावधि सकिएपछि लामाको ठाउँमा शाहीलाई नियुक्त गरिएको हो । उनलाई शुक्रबार नै शपथ गराउने कार्यक्रम भए पनि उच्च अदालत सुर्खेतले मन्त्रिपरिषद् पुनर्गठन गर्दा संविधानको मर्मअनुसार समावेशिता कायम नभएको भन्दै प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएपछि शपथको तालिका रोकिएको थियो । गत माघमा बनेको मुख्यमन्त्री शाही नेतृत्वको सरकार समावेशी सिद्धान्त विपरीत भएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर भएको थियो ।

मन्त्रीमण्डल समावेशी बनाउन उच्च अदालतले दिएको निर्देशन विपरित कर्णाली प्रदेश सरकारले समावेशी सिद्धान्तको मजाक उडाएको छ । आठ सदस्यीय मन्त्रीमण्डलमा एक जना पनि महिला राखिएको छैन् । यता नागरिक समाजले भने मंसिर ४ गते निर्वाचनको मिति नै तोकिसकेको परिप्रेक्षमा निर्वाचनलाई नै प्रभावित पार्ने गरी नीति, नियम र कानून सिकाउने प्रदेश सरकारबाटै गैरकानूनी र गैर जिम्मेवार हर्कत असंविधानिक तथा अलोकतान्त्तिक कार्य भएको बताएको छ । उता न्यायिक क्षेत्रले समेत कर्णाली प्रदेश सरकारले अदालतको निर्देशनको अवज्ञा गर्नु कानूनी राज्यको उपहास भएको ठहर गरेको छ ।

Translate »