राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

साउन २९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी छन् । राष्ट्रपति कार्यालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएकाे हाे । उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले फिर्ता पठाएको राष्ट्रपति कार्यालयले जारी गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकाले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देशसहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ‚’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

शनिबार प्रधानमन्त्रीसँगकाे भेटमा पनि राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको सम्बन्धमा असन्तुष्टि जनाएकी थिइन् । विधेयकमा समेटिएका केही बुँदाहरुमा राष्ट्रपतिले गम्भीर चासो र चिन्ता व्यक्त गरेकी थिइन्। शनिबार नै महान्यायाधिवक्ता खम्मबहादुर खातीसँगको भेटमा पनि नागरिकता विधेयकका सम्बन्धमा सोधपुछ गरेकी थिइन् ।  सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता ऐन संशोधन विधेयकमाथि छलफलपश्चात् प्रतिनिधिसभाले साउन ७ गते पारित गरेको थियो । त्यस्तै राष्ट्रिय सभाले साउन १२ गते विधेयक पारित गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले विधेयक प्रमाणीकरणका लागि साउन १५ गते राष्ट्रपति कार्यालयमा  पठाएका थिए ।


एमालेको स्वागत, कांग्रेसले जनायो आपत्ति

नागरिक विधेयक फिर्ता भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वागत गरेको छ । जनताको भावनालाई कदर गर्दै नागरिकता विधेयक फिर्ता भएकोमा एमालेले स्वागत गरेको हो ।  एमालेका प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपति भण्डारीले विधेयक फिर्ता गरेर जनगुनासो सम्बोधन गरेको बताए। उनले विधेयकमा कतिपय प्रावधानहरु विवादस्पद् रहेको दाबी गरे । ‘विधेयकमा कतिपय बुँदा विवादीत नै छन्। गठबन्धन सरकारले बहुमतको दम्भ देखाएर पास गरेको हो। राष्ट्रपतिको सन्देशलाई गठबन्धनले स्वीकार गर्नुपर्छ,’ उनले भने ।

त्यस्तै सत्तारुढ दल नेपाली कांग्रेसले नागरिक विधेयक फिर्ता हुनुलाई आश्चर्य बताएको छ । प्रमुख सचेतक चित्रलेखा यादवले संसदको दुवै सदनले पास गरेको विधेयकलाई फिर्ता पठाउनु दुःखद भएको बताइन् । उनले राष्ट्रपतिको कदमलाई अस्वभाविकसमेत बताइन् । ‘नागरिकविहीन नेपालीका लागि यो साँच्चै नै दुःखद हो । राष्ट्रपतिले ती नागरिकताविहीन नागरिकको अपमान गर्नुभयो,’  उनले भनिन् ।

 

Translate »