निर्वाचनमा दलहरुलाई थप जिम्मेवार बन्न सुर्खेतका प्रजिअ रिजालको आग्रह

स्काई न्यूज भदौं १०, सुर्खेत । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले आगामी मंसिर ४ गते हुने प्रदेश सभा तथा संघीय निर्वाचनका लागि सुर्खेतका सरोकारवालाहरुसँग छलफल शुरु गरेको छ । निर्वाचन कार्यालयले विहीबार वीरेन्द्रनगरमा आयोजना गरेको छलफल कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आसन्न प्रदेशसभा तथा संघीय निर्वाचनलाई मर्यादित र व्यवस्थित बनाउन दलहरु बढी जिम्मेवार हुनु पर्ने औल्याए ।

उनले दुई टुक शब्दमा भने, ‘मतदाताप्रति निर्वाचनमा भाग लिनुन्जेलसम्म मात्र होइन, निर्वाचन अघि र पछि पनि उत्तिकै जिम्मेवार बन्नुहोस् ।’ उनको आश्रय मतदातालाई प्रयोग मात्र गरिनु हुँदैन भन्ने थियो । किनभने गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा असक्त, असाहय, अपाङ्गले मतदान पछि निर्वाचन आयोग, प्रशासन र दलहरुले समेत वेवास्ता गरेको व्यापक गुनासो आएको थियो ।

कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले यही भदौ १२ गते मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको बताए । उनले कार्यतालिका अनुसार मतदाता नामावलीमा कसैले झूटा विवरण दिएर नामावलीमा नाम सिफारिस गरेको खण्डमा उजुरी दिनसक्ने मिति १३–१५ गतेसम्मका लागि तोकिएको जनाए । उनका अनुुसार उजुरी परेको खण्डमा मतदातालाई प्रमाणसहित सफाइका लागि १३–१७ गते सम्मका लागि तोकिएको छ ।

मतदाता नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट नाम हटाउनका लागि १३–१६ गतेको समयावधि तोकिएको छ । दुई वटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सुर्खेत जिल्लामा निर्वाचन क्षेत्र नं.–१ मा १ लाख २३ हजार ७५ जना मतदाता संख्या रहेको छ भने क्षेत्र नं.–२ मा १ लाख २४ हजार ६ सय ६५ जना गरी कुल २ लाख ४७ हजार ७ सय ४० जना मतदाता रहेका छन् । त्यसमा १ लाख २० हजार ७१४ जना पुरुष रहेका छन् भने १ लाख २७ हजार २६ जना महिला मतदान छन् ।

Translate »