कर्णालीमा माओवादीले मन्त्री फिर्ता बोलाउने

स्काई न्यूज /भदौं १०, सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । पार्टीको केन्द्रीय कमिटीको निर्णय अनुसार मन्त्रीमण्डल समावेशी बनाउनका लागि दुई मन्त्रीलाई फिर्ता बोलाउन लागिएको माओवादी केन्द्रकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिईन् ।

उनले प्रदेश सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र उर्जा तथा जसस्रोतमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाउन लागिएको बताईन् । उनका अनुसार जाजरकोटबाट निर्वाचित सांसद कृष्णा शाह र रुकुम पश्चिमबाट निर्वाचित सांसद रातो कामीलाई सरकारमा पठाउन सिफारिस गरिएको हो । कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका ११ जना सांसद छन् । ती मध्ये सांसद शाह र कामी बाहेक अन्य ९ जना यसअघि नै मन्त्री भईसक्नु भएको छ ।